सुशील कोइराला स्मृति ट्वान्टी २० यु-१९ महिला क्रिकेट

यु-१९ महिला क्रिकेटः सुदूरपश्चिम र गण्डकी विजयी

कोहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृति ट्वान्टी २० यु-१९ महिला क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गरे।

दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्यो। बागमतीले प्रस्तुत गरको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।  

सुदूरपश्चिमका लागि सावित्री धामीले ४२ बलमा पाँच चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन् । यसैगरी स्नेहा महराले अविजित २४ रन बनाइन् ।

तेश्रो विकेटको लागि सावित्री र स्नेहाले अविजित ५६ रनको साझेदारी गरे। बागमतीका लागि एक मात्र विकेट मनिषा उपाध्यायले लिइन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारिच २० ओभरमा सात विकेट गुमाएर ८९ रनको योगफल तयार पार्यो ।

बागमतीका लागि सोनी पाख्रिनले सर्वाधिक २९, क्रिश्मा गुरुङले १२ तथा साबिका यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि अनु कडायत र क्रिश्मा गुरुङले समान एक विकेट लिए। बागमतीका पाँच ब्याटर रन आउट भए ।

पहिलो जित निकालेको सुदूरपश्चिमको दुई खेललमा दुई अंक छ । बागमतीको पनि समान खेलबाट दुई अंक नै छ ।  

दिनको दोश्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गर्यो।

गण्डकीले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १६.५ ओभरमा ६२ रनमै समेटियो । लुम्बिनीका लागि आश्मा पुलामी मगरले २८ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गण्डकी प्रदेशका लागि सिमाना केसीले चार ओभरमा मात्र १४ रन खर्चिएर ६ विकेट लिइन् यसैगरी रचना चौधरीले दुई तथा आकृति तिवारी र निरुता जिटीले समान एक विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११२ रनको योगफल तयार पार्यो ।

गण्डकीको लागि सिमाना केसीले ४६ बलमा चार चौकको मद्दतले अविजित ४३ रन बनाइन् । यसैगरी सरिना थापाले १६ तथा सलिना सेनले १० रन योगदान  दिए।

लुम्बिनीका लागि सरु तिवारीले १ विकेट लिंदा बाँकी तीन विकेट रन आउटका रूपमा प्राप्त भयो ।

जितसँगै तीन खेलमा चार अंक जोडेको गण्डकी प्रदेश दोश्रो स्थानमा छ। तीनवटै खेलमा पराजित भएको लुम्बिनी एक खेल अगावै प्रतियोगिताको फाइनल दौडबाट बाहिरिएको छ।

प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो बागमती र गण्डकी प्रदेश तथा दोश्रो खेलमा कोहलपुर मेयर-११ र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।