काठमाडौं । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु समर्थक तयारी अवस्थामा आएका थिए । समर्थकको एउटै चाहना थियो, फाइनलमा अस्ट्रेलियालाई हराएर देशले एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको हेर्ने ।
एक लाखभन्दा बढी समर्थक खेल हेर्न रंगशाला पुगेका थिए । १२ वर्ष अगाडि घरेलु भूमिमा उपाधि जितेकाले पनि उनीहरु विश्वस्त थिए, उपाधि आफ्नो देशले नै जित्नेमा ।
तर, त्यस्तो भएन । प्रतियोगिता अवधिभर अपराजित भारतलाई अस्ट्रेलियालाई निराश पार्यो । तेस्रो पटक एकदिवसीय विश्वकप जित्ने भारतको सपना चकनाचुर भयो । पूरा देश मौन भयो । अहिले पनि छ ।
भारतले फाइनल हारेसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई चार वर्षपछि हुने विश्वकपको ढाँचा परिवर्तन गर्न दबाब दिन थालेको छ । एकदिवसीय विश्वकप २०२७ दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्दैछ ।
नियामक निकायले दुई वर्ष अगाडि मात्र विश्वकपमा सहभागी देशको संख्या १० बाट १४ गर्ने निर्णय गरेको थियो । तर, अहिले भारतीय प्रसारकहरुको आर्थिक दमनका कारण आइसिसीलाई फेरि पनि आफूले लिएको निर्णयलाई पुनर्विचार गर्ने दबाब बढेको छ ।
भारतीय मिडिया डिज्नी स्टारले आगामी चार वर्षका लागि आफ्ना कार्यक्रमहरुमा विशेष टेलिभिजन अधिकारका लागि आइसिसीलाई २ करोड ४० बिलियन पाउन्ड तिर्दैछ । आठ वर्ष अगाडि उसले १ करोड ९० लाख बिलियन तिरेको थियो ।
यो चार वर्षमा आइसिसीका चार प्रतियोगिता सम्पन्न हुनेछन् । तीन छोटो अवधिको प्रतियोगिता-दुई ट्वान्टी २० विश्वकप र २०२५ च्याम्पियन्स ट्रफी अनि २०२७ एकदिवसीय विश्वकप ।
भारतले खेलेको दिन डिज्नीको दर्शक ह्वात्तै बढ्छ । आइतबार मात्र ५९ मिलियनले भारत र अस्ट्रेलियाबीचको खेल हेरेका थिए ।
क्रिकेट क्रेजलाई मध्यनजर गर्दै डिज्नीले भारतीय मिडियाका दिग्गज रिलायन्स इन्डस्ट्रीलाई स्टार बेच्ने तयारी गरेको छ । रिलायन्स त्यहि कम्पनी हो जसले घरेलु लिगको सर्वाधिक सफल क्लब मुम्बई इन्डियन्सलाई पनि किनेको छ । यो योजना सफल रहेमा देशको क्रिकेट प्रतिष्ठान र प्रसारणकर्ताबीचको सम्बन्ध झन् नजिकको हुनेछ ।
२०२७ विश्वकपको ढाँचा बन्नुअघि नै डिज्नीले १२ महिना अगाडि मात्र आइसिसीसँग चार वर्षको सम्झौता गरेको थियो । आइसिसीको नयाँ ढाँचा अनुसार ७ टोलीको दुई समूह हुनेछ । जसबाट समान तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । त्यसपछि उत्कृष्ट चार टोलीले सेमिफाइनल खेल्नेछन् । डिज्नीलाई एउटै डर छ, यसो गरे भारत पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिने त होइन ? यदि यस्तो हुँदो हो त डिज्नीको दर्शक संख्या ह्वात्तै घट्नेछ ।
यी कुराहरु गरिरहँदा एउटा प्रश्न सबैको मनमा आएको हुनुपर्छ, के भारत जस्तो क्रिकेटको महारथी पनि समूह चरणबाट बाहिरिन्छ र ?
वेस्ट इन्डिजमा भएको सन् २००७ विश्वकपमा १६ टोलीको सहभागिता थियो । यी टोलीहरुलाई चार समूहमा विभाजन गरिएको थियो । श्रीलंका र बंगलादेशसँग हार्न पुग्दा भारत समूह चरणबाटै बाहिरिएको थियो । जसले गर्दा आइसिसीले ठूलै क्षति ब्यहोर्नु परेको थियो । २०२७ मा पनि यस्तै कथा नदोहोरिएला भन्न सकिन्न ।
आइसिसीको कुल ८० प्रतिशत राजस्व प्रसारणकर्ताहरुबाट आउँछ । त्यसैले पनि आइसिसी भारतबाट धेरै प्रभावित छ ।
न्युजिल्यान्डविरुद्धको सेमिफाइनलमा विकेटको विवादास्पद परिवर्तनले देखाइसकेको छ, आइसिसी भारतबाट कति प्रभावित छ भन्ने कुरा । सेमिफाइनलमा आइसिसीको अनुमति विनानै भारतले पिचमा परिवर्तन ल्याएको समाचार बाहिर आएको थियो ।
यद्यपी आइसिसीले २०२७ विश्वकपको ढाँचा परिवर्तन नगर्ने बताएको छ । बिसिसीआई नेतृत्वकर्ताहरु आइसिसी प्रतिनिधिलाई मनाउन लाग्नेछन् । जसरी भएपनि भारत २०२७ विश्वकपमा १० टोली हुनुपर्ने आफ्नो अडानमा अडिग रहनेछ । आखिर भारतलाई विश्वकप जो चाहिएको छ, अनि आइसिसीलाई पैसा ।