काठमाडौं । डेविड मिलरको सतकप्रेरित दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई जितको लागि दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतमा जारी आईसिसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ ।
टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ४९.४ ओभरमा अल आउट हुँदै दुई सय १२ रन बनाएको हो ।
५.४ ओभरमा दुई विकेट गुमाएर मात्र आठ रन जोडेको थियो । ११.५ ओभरमा २४–४ को अवस्थाबाट दक्षिण अफ्रिकालाई मिलर र हेन्रिक क्लासेनले ठूलो स्कोरतर्फ पुर्याएका थिए ।
मिलरले एक सय १६ बलमा आठ चौका र पाँच छक्कासहित एक सय १ रन बनाए । क्लासेनले ४८ बलमा ४७ रन बनाए । दुईबीच तेस्रो विकेटको लागि ९५ रनको बलियो साझेदारी भएको थियो ।
यसअघि ओपनर क्विन्टर डि कक तीन रन र कप्तान टेम्बा बभुमा शुन्यमा पेभिलियन फर्किएका थिए । मार्काे जन्सन गोल्डन डकआउट भए ।
अस्ट्रेलियाका मिचल स्टार्कले सर्वाधिक तीन विकेट लिए । जस हैजलवूड, प्याट कमिन्स र ट्राभिस हेडले समान दुई विकेट लिएका छन् ।
दुईबीचको विजेताले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा स्थान बनाइसकेको छ ।
अस्ट्रेलिया नवौं र दक्षिण अफ्रिकाले पाचौँ पटक विश्वकपको सेमिफाइलनमा स्थान बनाएका छन् । दक्षिण अफ्रिका पहिलो पटक फाइलनमा स्थान बनाउने लक्ष्यमा छ । यसअघि दुई टोलीबीच सन् १९९९ र २००७ को सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो । दुबै खेल अस्ट्रेलियाले जित्न सफल भएको हो ।
अस्ट्रेलियाले पछिल्लो ८ सेमिफाइनलमा खेलिसकेको छ । अब नवौं पटक विश्वकपको सेमिफाइलन खेल्न उत्रदैछ । पछिल्लो आठ सेमिफाइनलमा एक खेलमा मात्रै हारेको छ । एक खेल टाई भएपनि उत्कृष्ट नतिजाको कारण फाइनलमा स्थान बनायो ।
दक्षिण अफ्रिकाले चार पटक सेमिफाइनल खेलेको छ । तीन खेल हारेको छ भने एक खेल टाई भयो । सन् १९९९ मा अस्ट्रेलियासँग खेल टाई भएपनि दक्षिण अफ्रिका सेमिफाइनलबाटै बाहिरिनु परेको थियो ।
विश्वकप अघि भएको पाँच खेलको शृंखलामा भने अस्ट्रेलिया ३–२ ले पराजित भएको थियो । दुई टोलीबीच कुल एक सय ९ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ र अस्ट्रेलियाले ५० खेल जितेको छ । तीन खेल टाई हुँदा एक खेल अनिर्णित बन्यो । विश्वकपको सात भेटमा दुबैले समान तीन खेल जितेका छन् । एक खेल टाई भएको छ ।
यसअघि अस्ट्रेलिया लिग चरणमा लगातार सात खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सुरुआती दुई खेल हारेको अस्ट्रेलियाले त्यसपछि कमब्याक गरेको हो । दक्षिण अफ्रिका विश्वकपमा उत्कृष्ट दुईमा स्थान बनाउँदै अन्तिम सेमिफाइनल पक्का गरेको थियो ।