नेपाली क्रिकेट

हामी अहिलेको सफलतालाई अर्को साल पनि निरन्तरता दिन चाहन्छौंः प्रशिक्षक देसाइ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट  टोलीका प्रशिक्षक मोन्टी देसाइले सन् २०२३  नेपालका लागि राम्रो रहेको भन्दै सन् २०२४ मा पनि त्यसलाई निरन्तरता दिन प्रयास गर्ने बताएका छन् ।

देसाइको आगमनपछि नेपालले एकदिवसीय मान्यता जोगाउनेदेखि ट्वान्टी २० विश्वकपसम्म यात्रा तय गरेको छ । 

‘हामी जनवरीबाट व्यस्त थियौं । जम्मा ३ हप्ताको बिदा थियो । त्यसैले म आफ्नो खेलाडीप्रति गर्व गर्छु । सन् २०२३ हाम्रा लागि राम्रो रह्यो । २०२४ पनि यस्तै होस भन्ने चाहना छ ,’ देशाइले भने,‘ एक दिवसयीय र ट्वान्टी २० दुवै शैलीमा नेपाल अभ्यस्त हुन सक्यो । हामीले योजना अनुसारकै काम गर्न सफल भयौं । अहिले हामीले आराम लिने समय आएको छ । केही समायको आरामपछि फ्रेस स्टार्ट गर्नेछौं ।’ 

ट्वान्टी २० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल सुपर ओभरमा ओमानसँग ११ रनले पराजित भएको थियो ।

यसैगरी देसाइले सुपर ओभर अविनाश बोहरालाई दिनु राम्रो निर्णय रहेको बताए ।

‘हामीले सुपर ओभर प्रशिक्षण नगरेको होइन । हामीले यस्तै हुन्छ भनेर अनुमान गरेका थियौं,’ देसाइले थपे,‘ ट्वान्टी २० विशेषज्ञ अविनाश बोहोराले यसका लागि तयारी गरेको थियो । बिलालले प्रेसरमा निकै राम्रो गर्यो, अविनाशले भने त्यो गर्न सकेनन् ।’

यस्तै प्रशिक्षक देसाइले भुकम्पमा परेर निधन भएका नेपालीलाई सम्झिएर खुसियाली नमनाउने बताए ।

‘पछिल्लो ४८ घण्टामा हामीले क्रिकेट मात्र नभएर अरु कुरा पनि देख्यौँ । टोलीको समवेदना, भुकम्पबाट निधन भएका नेपालीहरुप्रति पनि छ,’ उनले भने ,‘ हामी उनीहरुका लागि जित्न चाहन्थ्यौँ । त्यसैले आज हामी खुसीयाली मनाउँदैनौं ।’