काठमाडौं । महिला ट्वान्टी२० शृंखलामा श्रीलंकाले इङ्ल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ । श्रीलंकाले कुनै पनि फर्म्याटको शृंखलामा इङ्ल्यान्डमाथि जित हात पारेको यो पहिलो पटक हो ।
बुधबार राति सात विकेटको जितसँगै श्रीलंकाले तीन खेलको शृंखला २–१ ले हात पारेको छ । यसअघि पहिलो खेल घरेलु टोली इङ्ल्यान्डले डिएलएस पद्धतिमा १२ रनले जितेको थियो । दोस्रो खेलमा श्रीलंका आठ विकेटले विजयी भएको हो । अब, दुई राष्ट्रबीच तीन एकदिवसीय शृंखला हुनेछ ।
इङ्ल्यान्ड सन् २०१० पछि ट्वान्टी२० शृंखलामा पराजित भएको हो । अस्ट्रेलियासँग १३ वर्षअघि शृंखला गुमाएको थियो ।
इङ्ल्यान्डले प्रस्तुत गरेको एक सय १७ रनको सामान्य लक्ष्य श्रीलंकाले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान चामरी आथपथ्थुले अलराउन्ड इनिङ खेलिन् ।
कप्तान चामरीले ४४ रनको योगदान गरिन् । २८ बलमा उनले पाँच चौका र दुई छक्का प्रहार गरेकी हुन् । अनुस्का संजिवनीले २० र हर्सिथा समराविक्रम २६ रनमा अविजित रहिन् ।
प्ले अफ दि म्याच कप्तान चामरी र संजिवनीबीच पहिलो विकेटको लागि ६५ रनको साझेदारी भएको थियो । बलिङतर्फ सराह ग्लेनले दुई विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङमा आएको घरेलु टोलीले १९ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय १६ रन बनाउ सक्यो । माइया बोउचियरले २३, एमी जेन्सले २० र डेनियर विब्सोनले २१ रनको बनाएका थिए ।
बलिङतर्फ श्रीलंकाकी कप्तान चामरीले सर्वाधिक तीन विकेट लिइन् । यसैगरी कभिसा दिल्हरी र उदिसिका प्रबोधनीले समान दुई विकेट लिएका थिए ।