काठमाडौं । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ भएको छ ।
चार खेलाडीसहित ६ सदस्यीय टोली बिहीबार थाइल्यान्डको चियाङ-माइ जाँदैछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्( राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार बिदाइ गरे ।
नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुने प्रतियोगितामा नेपालबाट समान दुई पुरुष\महिला खेलाडीले सहभागिता जनाउने छन् ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जाकारी दिए ।
यसैगरी महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीको प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आइटिओ) मा पुस्करराज पन्त छन् । पन्त बक्सिङमा नेपालका एक मात्र आइटिओ हुन् ।