काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालको यात्रा पहिलो चरणमै सीमित भएको छ ।
फराकिलो जितको विकल्प नरहेको बंगलादेशविरुद्धको खेलमा ४-० को हार बेहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याट्रिक गरिन् । त्यस्तै प्रतीमा मुन्डाको नाममा एक गोल रह्यो ।
दिनको पहिलो खेलमा भुटानमाथि ८-० को फराकिलो जित हासिल गरेसँगै भारतले फाइनलमा एक पाइला अगाडि सारिसकेको थियो । तर, बंगलादेशलाई ८ गोलको अन्तरले हराए नेपालसँग फाइनल पुग्ने गणीतिय सम्भावना बाँकी थियो । तर, त्यसमा घरेलु टोली सफल हुन सकेन ।

बंगलादेशको यो लगातार तेस्रो जित हो । नेपालसँग ६ गोलको अन्तरसम्म पराजित भए पनि फाइनलमा स्थान बनाउने समीकरणबीच बंगलादेशले आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको थियो । वैकल्पिक खेलाडीलाई जुन जिम्मेवारी दिइएको थियो, त्यो उनीहरुले बखुबी निभाए ।
बंगलादेशले दुबै हाफमा समान दुई गोल गर्यो । सुरुआती दुई गोल सेटपीसबाट सम्भव भएका थिए ।
खेलको तेस्रो मिनेटमा बंगलादेशले कर्नरलाई सदुपयोग गर्यो । मामोनी चक्माको कर्नर क्रसमा प्रतीमा मुन्डाले सहज हेडर गोल गरिन् । उनीसहित तीन खेलाडी कसैको निगरानीमा थिएनन् । जसका कारण अग्रता लिन बंगलादेशलाई कुनै पनि गाह्रो भएन ।
इन्जुरी समयमा बंगलादेशले पेनाल्टी बक्स नजिकै फ्रिकिक प्राप्त गर्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी रक्षक मिनमाया श्रेष्ठले अल्पी अख्तरको आक्रमणलाई रोक्न भरपुर प्रयास गरिन् । तर, सकिनन् । यस्तोमा बललाई क्लियर गर्न आइपुगिन् गोलकिपर झरना डुम्राकोटी । तर, झरनाले पेनाल्टी बक्सबाहिर हातले बल छुन पुगिन् । जसका कारण बंगलादेशले फ्रिकिक पायो । प्रिकिक प्रहारलाई अल्पीले नै लिइन् । उनले दोस्रो बारमा गरेको प्रहारलाई झरनाले बचाउन सकिनन् । टोलीका स्टार खेलाडीमध्ये एक अल्पीले पनि बेन्चबाट मैदानमा प्रवेश पाएकी थिइन् ।

खेलको ६७औं मिनेटमा अल्पीले व्यक्तिगत दोस्रो गोल गरिन् । बेन्चबाट आएकी शान्ती मार्दीको लोफ्टेड पासमा अल्पीले नेपालको ‘अफसाइड ट्र्याप’लाई बिट गरिन् । सेन्टरब्याक पूर्णिमा ताडीको अगाडिबाट बल लगेकी अल्पीले फाइनल टचमा झरनालाई बिट गरिन् । शान्तीले अल्पीलाई लोफ्टेड पास दिइरहँदा झरना गोलपोस्ट नजिकै थिइन् । डिफेन्सिभ लाइनभन्दा करिब २५ यार्ड पर रहेकी झरनाले अगाडि आउन ढिला गरिन् ।
झरना अगाडि बढ्दासम्म ढिला भइसकेको थियो । जसका कारण अल्पीलाई गोल गर्न कुनै पनि अफ्ठ्यारो भएन । उनले लोअर प्रहारमार्फत बललाई पोस्टको दिशा दिइन् ।
निर्धारित समय सकिन ८ मिनेट बाँकी छँदा लेफ्ट ब्याक पोजिसनमा खेलिरहेकी अलिजा कुमारी बिकको विर्सनलायक पहिलो टचको फाइदा बंगलादेशले उठायो । अलिजाले बल क्लियर गर्न खोजेकी थिइन् । तर, उनको बल दोस्रो बारमा रहेकी अल्पीसम्म पुग्यो । बलले गोल लाइन क्लियर गर्नै लाग्दा अल्पीले त्यसलाई फाइनल टच दिइन् र आफ्नो ह्याट्रिक पूरा गरिन् ।

इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित भयो । तेस्रो गोलका लागि दौडिएकी अल्पीलाई पछाडिबाट फउल गरेपछि सेन्टरब्याक माया मास्केलाई रातो कार्ड देखाइएको थियो । फउलपछि पेनाल्टी बक्स नजिकै बंगलादेशले फ्रिकिक पायो । जसलाई फेरि एकपटक अल्पीले नै लिइन् । तर, यसपाली झरना अलर्ट रहिन् ।
नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपालले भारतसँग १–० को झिनो हार बेहोरेको थियो । नेपालको हारसँगै भारतले फाइनलमा स्थान बनाएको छ । भारतले तीन खेलबाट ६ अंक जोड्यो ।
फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ ।
