काठमाडौं । एन्फा राष्ट्रिय लिगमा विभागीय टोली एपिएफ एफसी र न्युरोड टिम(एनआरटी)ले गोलरहित बराबरी खेलेका छन् ।
मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यो नतिजासँगै एपिएफ शीर्ष स्थानमा दुई अंकको स्पष्ट अग्रता लिनबाट चुक्यो । गोल भिन्नतामा मछिन्द्र एफसीलाई उछिन्दै एपिएफ पुनः शीर्ष स्थानमा भने उक्लिएको छ । दुबै टोलीको १३ अंक छ ।
एनआरटीसँग पनि तीन अंक बटुल्दै शीर्ष स्थानमा उक्लिने अवसर थियो । एनआरटीको पनि १३ अंक छ । यद्यपि एनआरटीले एपिएफ र मछिन्द्रभन्दा एक खेल बढी खेलेको छ ।

दिनको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो । जहाँ जावलाखेल युवा क्लबलाई तीन अंक हासिल गर्न कुनै गाह्रो भएन । अंकविहीन नव जनजागृति युवा क्लबमाथि जावलाखेलले ४–० को जित निकाल्यो । जावलाखेलका लागि हरिश राज भट्ट, बौबाहकार सिस्सोखो, युवराज ढकाल र धवेन्द्र कुंवरले गोल गरे । पहिलो हाफमा तीन गोल सम्भव भएका थिए । त्यसपछि निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा धर्वेन्द्रले स्कोरसीटमा आफ्नो नाम लेखाए ।
जितसँगै जावलाखेल ७ स्थान सुधार गर्दै आठौं स्थानमा उक्लिएको छ । हारले नव जनजागृतिलाई पुछारमा पुर्यायो ।
