काठमाडौं । साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध २-१ को संघर्षपूर्ण जित हासिल गर्दै फाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।
सोमबार पोखरा रंगशालामा घरेलु टोलीसँगको हारसँगै भुटान भने एक खेलअगावै फाइनल समीकरणबाट लगभग बाहिरिएको छ ।
भुटानले २-० ले पछाडि परेको अवस्थामा एक गोल फर्काएको थियो । निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी सोनाम छोडेनले गोल गर्दा भुटानले मोमेन्टम समात्यो । नेपालकी सेन्टरब्याक मिनमाया श्रेष्ठको गल्तीको फाइदा सोनामले उठाएकी थिइन् । गोलकिपर झरना डुम्राकोटी र मिनमायाबीच ‘कम्युनिकेसन ग्याप’ देखिँदा भुटानको गोल सम्भव भएको हो । तर, त्यसपछिको समय नेपालमाथि दबाब कायम राखेपनि बराबरी गोल भने गर्न सकेन ।

खेलको ३५औं मिनेटमा अट्याकिङ मिडफिल्डर सिर्जना बडुवालले गोलको डेढलक तोडेकी थिइन् । राइट साइडबाट बल अगाडि बढाएकी सिर्जनाले पेनाल्टी बक्स पुग्न नपाउँदै ‘एटेम्प्ट’ लिइन् । उनको प्रहारलाई गोलकिपर सोनाम छोडेनले रोक्न सकिनन् ।
चार मिनेटपछि स्ट्राइकर वर्षा ओलीले सोनाम अगाडि आएको मौकामा चिप प्रहार गरिन् । तर, बलले खाली पोस्टको दिशा लिन सकेन । पहिलो हाफको इन्जुरी समयमा कप्तान सुशीला केसीले ३० यार्ड परबाट गरेको फ्रिकिक प्रहार सोनामले बचाइन् । रिबाउन्ड बलमा मिडफिल्डर सहारा लिम्बूले बललाई पोस्टको दिशा दिन सकिनन् ।
खेलको ५५औं मिनेटमा अट्याकिङ मिडफिल्डर भूमिका बुढाथोकी गोलको निकै करिब रहिन् । यसपाली पनि सोनाम बल क्लियर गर्न पेनाल्टी बक्सभन्दा बाहिर आइपुगेकी थिइन् । खाली पोस्टलाई भूमिकाले ‘एनलाइज’ गर्न सकिनन् ।

६९औं मिनेटमा नेपालले अग्रतालाई दोब्बर बनायो । लेफ्ट साइडबाट स्ट्राइकर वर्षाले दिएको कटब्याकमा कुनै पनि विपक्षी खेलाडीको निगरानीमा नरहेकी प्रजीता राईले ‘वान टच’मा गोल गरिन् ।
नेपालले लिगको अन्तिम तथा निर्णायक खेलमा बुधबार साबिक विजेता बंगलादेशसँग खेल्नेछ । दुई खेलमा ६ अंक बटुलेको बंगलादेशले फाइनलमा एक पाइला अगाडि सारिसकेको छ । दिनको पहिलो खेलमा बंगलादेशले भारतको चुनौती २-० ले पन्छायो ।
बुधबार दिनको पहिलो खेलमा भारतले भुटानसँग खेल्ने तालिका छ ।
चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भइरहेको छ । शीर्ष स्थानका दुई टोलीले फाइनल खेल्ने सेटअप छ ।
