काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी टोटनहमसँग २–२ को बराबरी खेल्दा म्यानचेष्टर युनाइटेडले भने रोमाञ्चक जित निकालेको छ । आइतबार राति युनाइटेड फुलहमविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ ।
युनाइटेडको जितमा बेन्जामिन सेस्कोले इन्जुरी समयमा विजयी गोल गरेका हुन् । ब्रुनो फर्नान्डेजको पासमा उनले गोल गरे । यसअघि युनाइटेडको लागि म्याथ्युस कुन्हा र कासेमिरोले गोल गरेका थिए ।
फुलहमको लागि राउल जिमेनेजले गोल गरेका हुन् । जर्जले आत्माघाती गोल गरेका थिए ।
जितपछि युनाइटेडले चेल्सी र लिभरपुललाई पछि पारेको हो । २४ खेलबाट ४१ अंकसहित युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।
यता, सिटीले २–० को अग्रता जोगाउन नसक्दा टोटनहमसँग अंक बाढ्न बाध्य भयो । रायन चेर्कीले ११औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । एन्टोनी सेमेन्योले ४४औं मिनेटमा गोल गर्दा पहिलो हाफमा सिटी २–० ले अगाडि रह्यो ।
डोमिनिक सोलन्केले ५३औं मिनेटमा अग्रता २–१ मा झारेका थिए । उनले नै ७०औं मिनेटमा बराबरी गोल गर्दै टोलीको हार टारेका हुन् ।
बराबरीपछि सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी चार अंकमा झार्ने अवसर गुमायो । अब, दुई टोलीबीच ६ अंकको अग्रता भएको छ । २४ खेलबाट सिटीको ४७ तथा आर्सनलको ५३ अंक छ । बराबर खेलेको टोटनहम २९ अंकसहित १४औं स्थानमा छ ।
राति नै भएको अन्य खेलमा ब्रेन्टफोर्डले एष्टन भिल्लालाई १–० ले हराउँदा नटिंघम फोरेष्टले क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेका थिए ।
