काठमाडौं । भू राजनीतिले कुनै पनि प्रतियोगिता कति धेरै प्रभावित हुन सक्छ भन्ने उदाहरण बन्ने भएको छ, अबको ट्वान्टी ट्वान्टी विश्वकप २०२६ । पाकिस्तानी सरकारले आइतबार आफ्नो टिमलाई ट्वान्टी ट्वान्टी विश्वकपमा खेल्न अनुमती दिएको छ, तर त्यही टिमलाई भारतविरुद्धको खेलमा सहभागी हुनबाट भने रोक लगाएको छ ।
भारत र श्रीलंकामा यसै साता फेब्रवरी ७ देखि प्रतियोगिता सुरु हुनेछ । भारत र पाकिस्तानबीचको खेल फेब्रवरी १५ मा श्रीलंकामा हुने तय थियो । तर पाकिस्तानले नखेल्ने भएपछि यो खेल नहुने भएको छ र यसबाट भारतले अधिक्तम अंक बटुल्ने छ । यसले यस विश्वकपको सबैभन्दा बहुप्रतीक्षित खेल हेर्नबाट आम दर्शक वञ्चित भएका छन् ।
बंगलादेशले यसअघि सुरक्षाको कारण देखाएर प्रतियोगिता नखेल्ने घोषणा गरेको थियो । सुरुमा बंगलादेशले आफ्ना खेल भारतबाट श्रीलंकामा सार्न पनि अनुरोध गरेको थियो । तर त्यसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मानेको थिएन् । आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरिसकेको छ ।
