काठमाडौं । घरेलु टोली पाकिस्तानले पहिलो ट्वान्टी २० खेलमा अस्ट्रेलियालाई २२ रनले पराजित गरेको छ ।
बिहीबार राति लाहोरको गद्दाफी रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६९ रन बनाएको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले आठ विकेट गुमाउँदा मात्र एक सय ४६ रन बनाएको हो ।
अब, दोस्रो खेल लाहोरमै शनिबार हुनेछ । तेस्रो खेल भने आइतबार हुनेछ । यो खेलपछि दुबै टोली भारत र श्रीलंकामा हुने विश्वकपमा सामेल हुनेछन् ।
खेलमा प्लेयर अफ दि म्याच साइम आयुव घोषित भए । उनले ४० रन बनाउनुको साथै दुई विकेट लिएका थिए ।
पाकिस्तानका लागि साइमले २२ बलमा सर्वाधिक ४० रन बनाएका थिए । यसअघि ओपनर साहिबजादा फर्हान डक आउट भएका एि । कप्तान सल्मान अघाले ३९ तथा बाबर आजमले २४ रनको योगदान गरेका थिए ।
अस्ट्रेलियाका एडाम जाम्पाले सर्वाधिक ४ विकेट लिए । जाभियर बार्टलेट र माहली बेर्डम्यानले समान दुई विकेट हात पारेका थिए ।
अस्ट्रेलियाको लागि जाभियरले सर्वाधिक ३४, क्यामरुन ग्रिनले ३१, कप्तान ट्राभिस हेडले २३ रन बनाएका थिए ।
पाकिस्तानका साइम र अब्रर अहमदले समान दुई विकेट लिएका थिए ।
