काठमाडौं । चीनको युनान प्रान्तीय युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय यु-२० टिमले ३-१ को पुनरागमन जित हासिल गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा सम्पन्न खेलमा पाहुना टोलीले पहिलो हाफमा अप्रत्याशित अग्रता लिएको थियो । नेपाल भने पोसेसन कायम राखेपनि गोलका लागि संघर्षरत रह्यो । तर, निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा नेपालले दुई गोल गर्यो । त्यसपछि इन्जुरी समयमा थप एक गोल सम्भव भयो ।

नेपालको जितमा सुक्रिया मिया, कप्तान विर्सना चौधरी र सजिना स्याङताङले गोल गरे । यसअघि सी सियाउटिङले ४१औं मिनेटमा युनानलाई अग्रता दिलाएकी थिइन् । ८४औं मिनेटमा सुक्रियाले बराबरी गोल फर्काएपछि खेलको रुप बदलिएको थियो ।
जितसँगै नेपालले मेडल र ट्रफी हात पार्यो । मैत्रीपूर्ण खेल चिनियाँ नयाँ वर्षको उपलध्यमा एन्फा, ‘स्कुल अफ फिजिकल एजुकेशन अफ युनान युनिभर्सिटी’ र नेपाल ओभरसीज चाइनिज एसोसिएसनको संयुक्त आयोजनामा भएको हो ।
