काठमाडौं । पछिल्लो दशक एक सयभन्दा बढी खेलाडी विदेश पलायन हुँदा चलिरहेको राष्ट्रिय लिगको रौनक सोचेजस्तो रहन सकेको छैन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले तेस्रो पटक राष्ट्रिय लिग आयोजना गरिरहेको छ । तीन मैदानमा कुल १ सय ३७ खेल हुनेछ । तर, १७ टिम सहभागी भएका राष्ट्रिय लिगमा शनिबारसम्म ३५ खेल सम्पन्न हुँदा रंगशालामा दर्शक भने पस्न मानेका छैनन् ।
हरेक खेलमा दर्शक टाउको गन्न सकिने अवस्था छ । एन्फाकै सूचनाअनुसार अधिकांश खेलमा दुई सय दर्शक रंगशालामा हुन्छन् । एक त टिम संख्या धेरै । अर्काे भनेको मैदानमा चर्चित खेलाडी नहुनु । अर्काे भनेको स्तरीय खेलाडी पनि नहुनु त्यसको मुख्य कारण हुन् । चर्चित भनिएका विभागीय टोलीसहित पछिल्लो लिग विजेता चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब र एनआरटीले पनि स्वाभाविक खेल पस्कन सकेका छैनन् ।

पछिल्लो तीन वर्ष घरेलु लिग नहुनु मुख्य समस्या हो । अर्कातर्फ क्रिकेटले माहोल तताइरहेको छ । यी यावत कारणबीच पनि केही चर्चित फुटबलर भने चलिरहेको राष्ट्रिय लिगमा देखिएका छन् ।
विभागीय टोली त्रिभुवन आर्मीले चर्चित खेलाडी गोलकिपर विकेश कुथुसँगै नवयुग श्रेष्ठ, जिलेस्पीजंग कार्की, जर्जप्रिन्स कार्की, नवीन लामा, दिनेश हेम्जनसँगै नेपालको युवा टिममा सानदार प्रदर्शन गरेका कुशल देउवा, निरञ्जन धामी जस्ता खेलाडी समावेश गरेको छ ।
राष्ट्रिय टिमकै गोलकिपर दीप कार्की र रोहन कार्की पनि चर्च ब्वाइजबाट खेलिरहेका छन् । एरिक विष्ट पनि त्यही टोलीमा छन् । दीपले भने एक खेलबाहेक खेलेका छैनन् ।
यद्यपि, राष्ट्रिय लिगमा राष्ट्रिय टोलीबाटै खेलिरहेका चर्चित खेलाडी कप्तान किरणकुमार लिम्बू, रक्षक रोहित चन्द र अनन्त तामाङ भने देखिएका छैनन् ।
यता, अर्काे उपाधि दाबेदार एनआरटीले पनि चर्चित अनुहार अनुबन्ध गर्दै उपाधि जित्ने योजना अघि सारेको छ । टोलीको प्रदर्शन पनि उम्दा छ । गोलकिपर विशाल सुनारसहित राष्ट्रिय टिमबाट खेलिरहेका मनीष डाँगी, अञ्जन विष्ट, कृतिशरत्न छुन्जु तथा युवा खेलाडी जन्मजय धामी, राजीव लोप्चान, रोहन खड्गी, रन्दीप पौडेल एनआरटीमै छन् । तर, अञ्जन लिगको पूर्वसन्ध्यामै घाइते हुँदा मैदान ओर्लिएका छैनन् ।

यता, अर्काे विभागीय टोली एपिएफमा पनि चर्चित अनुहार छन् । राष्ट्रिय टिमबाट खेलिरहेका मणिकुमार लामा र रक्षक सुमन श्रेष्ठसँगै युवा गोलकिपर एञ्जल श्रेष्ठ, समिराज थोकर, सन्तोष खत्री, प्रदीप लामा, जस्ता खेलाडी एपिएफलाई राष्ट्रिय लिग जिताउने योजनामा छन् ।
घरेलु फुटबलमा पछिल्लो दशक चर्चामा आइरहने टिम हो मछिन्द्र फुटबल क्लब । उसले यसपटक पनि राष्ट्रिय टिमबाट खेलिरहेका चर्चित अनुहार समेटेर पहिलो पटक राष्ट्रिय लिग जित्ने योजना बनाएको छ । टिमका कप्तान तथा चर्चित गोलकिपर विशाल श्रेष्ठ छन् । सनिश श्रेष्ठ, देवेन्द्र तामाङसँगै युवा खेलाडी एरिक विष्ट, अविनाश स्याङ्तान पनि छन् ।
लगातार तीन पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेका छन् । मनाङ मर्स्याङ्दी क्लबले कीर्तिमानी आठौं पटक उपाधि जित्दा उनी पनि टोलीमा थिए ।
सातदोबाटो युथ, फ्रेन्ड्स क्लब, श्री भगवती क्लब र चित्लाङ एफसीले पनि मोसफल तथा नेपालको युवा टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका खेलाडीलाई समावेश गरेको छ ।
यद्यपि, राष्ट्रिय लिगमा राष्ट्रिय टोलीबाटै खेलिरहेका चर्चित खेलाडी कप्तान किरणकुमार लिम्बू, रक्षक रोहित चन्द र अनन्त तामाङ भने देखिएका छैनन् ।
एरिक विष्ट (चर्च ब्वाइज)
एरिक विष्ट लगातार दोस्रो पटक चर्च ब्वाइजबाट खेलिरहेका छन् । २०७९–८० को सहिद स्मारक ए डिभिजन लिग पनि एरिकले चर्च ब्वाइजबाट खेल्दै उपाधि नै जिताएका हुन् । यसपटक एरिक टिमको कप्तान छन् । यसअघि दीप कार्की कप्तान भनिए पनि उनी टिममा देखिएका छैनन् । एरिकले लिगमा खेलेका चारै खेलमा ९० मिनेट नै खेलेका छन् । दुई गोल गरिसके । पहिलो खेलमै श्री भगवती क्लबविरुद्ध उनले गरेको फ्रिकिक गोल निकै सानदार रह्यो । एरिक पहिलो पटक चर्च ब्वाइजलाई राष्ट्रिय लिगको उपाधि जिताउने लक्ष्यमा छन् ।
नवयुग श्रेष्ठ (आर्मी)
नेपाली फुटबलका चर्चित नाम हुन् नवयुग श्रेष्ठ । उनले यसपल्ट पनि आर्मीबाटै खेलिरहेका छन् । लिगमा उनले चार खेल खेल्दा दुई गोल पनि गरेका छन् । प्रशिक्षक बालगोपाल महर्जनले नवयुगलाई ७० देखि ८० मिनेटसम्म हरेक खेलमा मौका दिँदै आएका छन् । हाल आर्मीमा जिलेस्पी, जर्जप्रिन्स, नीराजन र कुशल देउवा जस्ता खेलाडी हुँदा नवयुगले पूरा समय खेल्न संघर्ष गर्नुपरेको छ । पछिल्लो समय राष्ट्रिय टिममा पर्न समेत संघर्ष गरिरहेका नवयुगका लागि राष्ट्रिय लिग एउटा उर्जा थप्ने माध्यम बन्न सक्छ ।
मनीष डाँगी (एनआरटी)
सहिद स्मारक ‘सी’ डिभिजन लिग हुँदै सिधै राष्ट्रिय टिममा स्थान बनाएका खेलाडी हुन् मनीष डाँगी । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा प्रतिभाको रूपमा उनलाई डेब्यु गराएका थिए । त्यसपछि यी विंगरले नेपाली फुटबलमा पछि फर्केर हेर्नुपरेको छैन । दक्षिण कोरियाको एकेडेमीबाट उनी नेपाली फुटबलमा फर्किएका हुन् । तर, यसपटक भने उनी घाइते हुँदा स्वाभाविक खेल खेल्न सकेका छैनन् । पहिलो खेलमा मछिन्द्रविरुद्ध ९० मिनेट खेले । त्यसपछि मैदान नै ओर्लिन सकेका छैनन् । यता, अञ्जन पनि घाइते हुँदा एनआरटीले सोचेजस्तो प्रदर्शन पस्कन सकेको छैन ।
विशाल श्रेष्ठ (मछिन्द्र एफसी)
पहिलो पटक मछिन्द्रलाई राष्ट्रिय लिग जिताउने योजनासहित कप्तानी जिम्मेवारी गोलकिपर विशाल श्रेष्ठले पाएका छन् । विशाल घरेलु फुटबलमा निकै सफल खेलाडी हुन् । लगातार तीन पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेका छन् । मनाङ मर्स्याङ्दी क्लबले कीर्तिमानी आठौं पटक उपाधि जित्दा उनी पनि टोलीमा थिए । त्यसपछि मछिन्द्र आएर दुई पटक उपाधि जिते । यता, राष्ट्रिय टिममै एक दशकभन्दा बढी टिममा रहँदा भने डेब्यु मात्रै गर्न पाएका छन् । तर, त्यसपछि नै उनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास घोषणा गरे । चलिरहेको राष्ट्रिय लिगमा विशालले पूरा ४ खेल नै खेले । त्यसमा दुई क्लिन सिट छ ।
मणि लामा (एपिएफ क्लब)सहिद स्मारक ए डिभिजन लिगको हैसियत जोगाउन दुई वर्षसम्म कुरेको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले यसपटक राष्ट्रिय लिगमा आफूलाई प्रमाणित गर्ने योजना बनाएको छ । यद्यपि प्रशिक्षक राजेन्द्र तामाङले लक्ष्य शीर्ष चार बनाएका छन् । तर, टिममा खेलाडीको सूची हेर्दा एपिएफ पनि उपाधि दाबेदार हो । एपिएफलाई उपाधि जिताउन मणि लामासँगै नेपाली फुटबलमा पछिल्लो दशक देखिएका चर्चित अनुहारमा रक्षक सुमन श्रेष्ठ, युवा गोलकिपर एञ्जल श्रेष्ठ, समिराज थोकर, सन्तोष खत्री, प्रदीप लामा जस्ता खेलाडी छन् । मणिले पछिल्लो तीन वर्षदेखि राष्ट्रिय टिममा नियमित खेलिरहेका छन् । यद्यपि, लिगमा उनले दुई खेल मात्रै खेल्न पाएका छन् ।