माघ १७, २०८२ शनिबार | १०:०४:५३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट
शनिबारको दिन शनिबारको दिन

पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ?

काठमाडौं । पोखरा रंगशालामा आजदेखि साफ यु–१९ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदै छ । सिनियरतर्फ तीन पटक र यू–१५ उमेर समूहतर्फ एक पटक साफ महिला च्याम्पियनसिप आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गरिरहेको छ ।

यसपालि सबै टोलीमा नयाँ ब्याचका खेलाडीले प्रतिनिधित्व गर्ने छन् । गत वर्ष भुटानको थिम्पूमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिप खेलेका खेलाडीले पहिलो पटक माथिल्लो उमेर समूहको प्रतियोगितामा देशको जर्सी लगाउँदै छन् । नेपालको चर्चा गर्ने हो भने १२ खेलाडीले गत वर्ष यु–१७ का दुई प्रतियोगिता खेलेका थिए ।

सन् २०२४ मा बंगलादेशको ढाकामा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षणको नेतृत्व बालगोपाल साहुखलले गरेका थिए । टोलीका प्रमुख खेलाडीमा सेनु परियार, सुक्रिया मियाँ, सिमरन राई, सुशीला केसीलगायत थिए । यो ब्याचले २०२२ मा साफ यु–१५ च्याम्पियनसिप जितेको थियो । २०२४ पछि गत वर्ष यो ब्याचले ढाकामै साफ यु–२० च्याम्पियनसिप पनि खेल्यो । तर, दुवै प्रतियोगितामा नेपालले सफलता हासिल गर्न सकेन ।

हुन त नेपालले माथिल्लो उमेर समूहमा उपाधि जित्न सकेको छैन । नेपाल तीन पटकको उपविजेता टोली हो । अब पालो आएको छ भूमिका बुढाथोकीसम्मिलित ब्याचको । भूमिकाले पछिल्लो दुई वर्षमा तीन पटक तल्लो उमेर समूहमा नेपालको कप्तानी सम्हालेकी छन् । सम्भवतः भूमिकाको ब्याचले बढीमा तीन पटक (निरन्तर भएमात्र) माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिप खेल्नेछ ।

मूल प्रश्नः नयाँ ब्याचको पहिलो अनुभवमा नेपालले पोखरामा सफलता हासिल गर्न सक्ला ? सहभागी चार राष्ट्रमा सबैको स्थिति त्यही हो । भारत, बंगलादेश र भुटानी टोलीमा पनि थिम्पू भ्रमण गरेकै खेलाडीको बाहुल्य छ । कप्तानी नेतृत्व पनि उही खेलाडीले गर्नेछन्, जसले भुटानमा पनि टोलीलाई नेतृत्व दिएका थिए । भारतकी कप्तान हुन् जुलान नोङमैथेम अनि भुटानले सोनाम छोडेनलाई नै कप्तानी दिएको छ । बंगलादेशलाई फेरि एकपटक अर्पिता विश्वासले नेतृत्व गर्दै छिन् ।

नेपालको नेतृत्व अनुभवी खेलाडी सुशीला केसीले गर्दै छिन् । गत वर्ष यु–२० खेलेका चार खेलाडी यसपालिको टोलीमा राख्न पाउने साफको नियमअनुसार प्रत्येक टोलीले उमेरहद हिसाबमा अनुभवी खेलाडी राखेका छन् । नेपाली टोलीमा सेन्ट्रल मिडफिल्डर सुशीलासँगै रक्षक माया मास्के, अट्याकिङ मिडफिल्डर सेनु परियार र स्ट्राइकर वर्षा ओली छन् ।

यी चार खेलाडीलाई अवसरसँगै चुनौती पनि छ । ढाकामा यु–१५ जित्दा सबै खेलाडी टोलीका प्रमुख थिए । अब माथिल्लो उमेर समूहको उपाधि जित्ने अन्तिम अवसर उनीहरूलाई छ । फेरि यसपालि घरेलु मैदानमा खेल हुँदै छ । यसका लागि उनीहरू कत्तिको सचेत छन् त ?

‘हामीले पछिल्ला वर्षहरूमा उपाधिका लागि एकदमै धेरै प्रयास गर्यौं । तर, सफल हुन सकेनौं । यसपालि टिम बलियो छ । सिनियर जुनियरको कम्बिनेसन राम्रो छ । बहिनीहरूमा जित्नुपर्छ भन्ने भावना छ,’ कप्तान सुशीला भन्छिन्, ‘तयारी राम्रो भएको छ । टिमवर्क र कन्फिडेन्स राम्रो छ ।’

थिम्पु (यु-१७) मा नेपालको प्रदर्शन बिर्सनलायक रहेको थियो । त्यतिबेला पनि यिनै चार टोलीले सहभागिता जनाएका थिए । डबल राउन्ड रोबिन लिगमा नेपाल चार अंकसहित तेस्रो भएको थियो । त्यही बलिया भारत र बंगलादेशसँग नेपालले खेल्दै छ ।

नेपालमा कुनै एक प्रशिक्षक लामो समयसम्म टिक्दैनन् । हरेक प्रतियोगिताका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने चलन छ । यसपालि पनि त्यही कथा दोहोरिएको छ । प्रतियोगिता सकिएपछि प्रशिक्षकले एउटै तर्क राख्छन्, ‘हामीलाई तयारी समय नै पुगेन’ ।

यसपालि नेपाली टोलीले यसै प्रतियोगितालाई भनेर बढीमा तीन हप्ता प्रशिक्षण गर्यो । प्रशिक्षक फेरिए । गत संस्करण यामप्रसाद गुरुङले नेपालको टचलाइन सम्हालेका थिए । थिम्पु (यु–१७) मा चेतनारायण श्रेष्ठ मुख्य प्रशिक्षक थिए । यसपालि पोखरामा सुमन श्रेष्ठले टोलीलाई नेतृत्व गर्दै छन् ।

घरेलु फुटबलका सफल प्रशिक्षक सुमन श्रेष्ठको नियुक्ति सरोकारवालाबीच आश्चर्यलाग्दो विषय थियो । उनी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै छन् । छोटो समयका बावजुद सर्वोच्च निकाय एन्फाबाट सकारात्मक कुरा आएपछि जिम्मेवारीका लागि नाइँ भन्न नसकेको श्रेष्ठले खेलाडी छनोटका क्रममा खेलाडी डटकमसँग भनेका थिए । खेलाडी फिट रहेकाले समस्या नहुने उनको तर्क थियो ।

‘देशका लागि केही गर्नुपर्छ भन्ने सोचले जिम्मेवारी लिएको हुँ । समय कम छ । तर, भएको समय भरपूर सदुपयोग गर्छु । खेलाडी फिट छन् । त्यस्तो गाह्रो हुने छैन,’ श्रेष्ठले भनेका थिए ।

थिम्पुपछि अगस्टमा यु-१७ टोलीले थाइल्यान्डमा एएफसी छनोट खेलेको थियो । तीन हप्ताको प्रशिक्षणपछि प्रतियोगिता मुखैमा आइपुग्दा खेलाडीमा ‘म्याचुरिटी’ प्रस्ट रूपमा देखिएको उनले पोखरा जानु अघि सुनाएका थिए ।

‘जतिबेला मैले टिम लिएको थिएँ । त्योभन्दा अहिले टोली निखारिएको छ । कम समयका बावजुद आफ्नो रणनीतिमा खेलाडीलाई ढाल्ने कोसिस गरेको छु,’ श्रेष्ठ भन्छन्, ‘विगतका संस्करणभन्दा राम्रो नतिजा अवश्य आउने छ ।’

अन्य टोलीको परिदृश्य भने फरक छ । भुटानको प्रशिक्षण नेतृत्व फेरि एकपटक टंकमाया घलेले गर्दै छिन् । लामो समय भयो, घलेले माथिल्लो उमेर समूहमा भुटानी टोली सम्हाल्दै आएको । बंगलादेशको टचलाइनमा हुनेछन्, सिनियर राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पिटर बटलर । बटलरले अघिल्लो संस्करण घरेलु भूमिमा पनि टोलीको नेतृत्व गरेका थिए । जतिबेला टोलीले नेपाललाई पछाडि पार्दै उपाधि जितेको थियो ।

थिम्पु (यु–१७)मा पनि उनले नै टचलाइन सम्हाल्ने कुरा थियो । पछि अस्वस्थताका कारण उनले थिम्पु भ्रमण गर्न सकेनन् । यसै वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा बंगलादेशले पहिलो पटक ऐतिहासिक रूपमा सहभागिता जनाउँदै छ । यसैको तयारीका लागि प्रशिक्षक बटलर युवा टोलीसँग भिजिरहेको बताइएको छ ।

भारतले यही अप्रिलको अन्तिम साता चीनमा हुने एएफसी यु–१७ एसियन कप खेल्दै छ । पोखरा भ्रमण त्यसैको तयारीका रूपमा लिइएको छ । यसैका लागि भारतले पामेला कोन्टीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । पाँच वर्ष भेनेजुएलाको यु–२० महिला टोली हेरेका कोन्टी पूर्व इटालीका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् ।

पोखरा रंगशालामा नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ ।

दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानको सामना गर्नेछ । त्यसपछि फेब्रुअरी ४ मा बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोबिन लिगपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनलमा स्थान बनाउने छन् ।