चैत्र ४, २०८२ बुधबार | ११:०६:११
सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित
शनिबारको दिन शनिबारको दिन

पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ?

काठमाडौं । पोखरा रंगशालामा आजदेखि साफ यु–१९ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदै छ । सिनियरतर्फ तीन पटक र यू–१५ उमेर समूहतर्फ एक पटक साफ महिला च्याम्पियनसिप आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गरिरहेको छ ।

यसपालि सबै टोलीमा नयाँ ब्याचका खेलाडीले प्रतिनिधित्व गर्ने छन् । गत वर्ष भुटानको थिम्पूमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिप खेलेका खेलाडीले पहिलो पटक माथिल्लो उमेर समूहको प्रतियोगितामा देशको जर्सी लगाउँदै छन् । नेपालको चर्चा गर्ने हो भने १२ खेलाडीले गत वर्ष यु–१७ का दुई प्रतियोगिता खेलेका थिए ।

सन् २०२४ मा बंगलादेशको ढाकामा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षणको नेतृत्व बालगोपाल साहुखलले गरेका थिए । टोलीका प्रमुख खेलाडीमा सेनु परियार, सुक्रिया मियाँ, सिमरन राई, सुशीला केसीलगायत थिए । यो ब्याचले २०२२ मा साफ यु–१५ च्याम्पियनसिप जितेको थियो । २०२४ पछि गत वर्ष यो ब्याचले ढाकामै साफ यु–२० च्याम्पियनसिप पनि खेल्यो । तर, दुवै प्रतियोगितामा नेपालले सफलता हासिल गर्न सकेन ।

हुन त नेपालले माथिल्लो उमेर समूहमा उपाधि जित्न सकेको छैन । नेपाल तीन पटकको उपविजेता टोली हो । अब पालो आएको छ भूमिका बुढाथोकीसम्मिलित ब्याचको । भूमिकाले पछिल्लो दुई वर्षमा तीन पटक तल्लो उमेर समूहमा नेपालको कप्तानी सम्हालेकी छन् । सम्भवतः भूमिकाको ब्याचले बढीमा तीन पटक (निरन्तर भएमात्र) माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिप खेल्नेछ ।

मूल प्रश्नः नयाँ ब्याचको पहिलो अनुभवमा नेपालले पोखरामा सफलता हासिल गर्न सक्ला ? सहभागी चार राष्ट्रमा सबैको स्थिति त्यही हो । भारत, बंगलादेश र भुटानी टोलीमा पनि थिम्पू भ्रमण गरेकै खेलाडीको बाहुल्य छ । कप्तानी नेतृत्व पनि उही खेलाडीले गर्नेछन्, जसले भुटानमा पनि टोलीलाई नेतृत्व दिएका थिए । भारतकी कप्तान हुन् जुलान नोङमैथेम अनि भुटानले सोनाम छोडेनलाई नै कप्तानी दिएको छ । बंगलादेशलाई फेरि एकपटक अर्पिता विश्वासले नेतृत्व गर्दै छिन् ।

नेपालको नेतृत्व अनुभवी खेलाडी सुशीला केसीले गर्दै छिन् । गत वर्ष यु–२० खेलेका चार खेलाडी यसपालिको टोलीमा राख्न पाउने साफको नियमअनुसार प्रत्येक टोलीले उमेरहद हिसाबमा अनुभवी खेलाडी राखेका छन् । नेपाली टोलीमा सेन्ट्रल मिडफिल्डर सुशीलासँगै रक्षक माया मास्के, अट्याकिङ मिडफिल्डर सेनु परियार र स्ट्राइकर वर्षा ओली छन् ।

यी चार खेलाडीलाई अवसरसँगै चुनौती पनि छ । ढाकामा यु–१५ जित्दा सबै खेलाडी टोलीका प्रमुख थिए । अब माथिल्लो उमेर समूहको उपाधि जित्ने अन्तिम अवसर उनीहरूलाई छ । फेरि यसपालि घरेलु मैदानमा खेल हुँदै छ । यसका लागि उनीहरू कत्तिको सचेत छन् त ?

‘हामीले पछिल्ला वर्षहरूमा उपाधिका लागि एकदमै धेरै प्रयास गर्यौं । तर, सफल हुन सकेनौं । यसपालि टिम बलियो छ । सिनियर जुनियरको कम्बिनेसन राम्रो छ । बहिनीहरूमा जित्नुपर्छ भन्ने भावना छ,’ कप्तान सुशीला भन्छिन्, ‘तयारी राम्रो भएको छ । टिमवर्क र कन्फिडेन्स राम्रो छ ।’

थिम्पु (यु-१७) मा नेपालको प्रदर्शन बिर्सनलायक रहेको थियो । त्यतिबेला पनि यिनै चार टोलीले सहभागिता जनाएका थिए । डबल राउन्ड रोबिन लिगमा नेपाल चार अंकसहित तेस्रो भएको थियो । त्यही बलिया भारत र बंगलादेशसँग नेपालले खेल्दै छ ।

नेपालमा कुनै एक प्रशिक्षक लामो समयसम्म टिक्दैनन् । हरेक प्रतियोगिताका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने चलन छ । यसपालि पनि त्यही कथा दोहोरिएको छ । प्रतियोगिता सकिएपछि प्रशिक्षकले एउटै तर्क राख्छन्, ‘हामीलाई तयारी समय नै पुगेन’ ।

यसपालि नेपाली टोलीले यसै प्रतियोगितालाई भनेर बढीमा तीन हप्ता प्रशिक्षण गर्यो । प्रशिक्षक फेरिए । गत संस्करण यामप्रसाद गुरुङले नेपालको टचलाइन सम्हालेका थिए । थिम्पु (यु–१७) मा चेतनारायण श्रेष्ठ मुख्य प्रशिक्षक थिए । यसपालि पोखरामा सुमन श्रेष्ठले टोलीलाई नेतृत्व गर्दै छन् ।

घरेलु फुटबलका सफल प्रशिक्षक सुमन श्रेष्ठको नियुक्ति सरोकारवालाबीच आश्चर्यलाग्दो विषय थियो । उनी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै छन् । छोटो समयका बावजुद सर्वोच्च निकाय एन्फाबाट सकारात्मक कुरा आएपछि जिम्मेवारीका लागि नाइँ भन्न नसकेको श्रेष्ठले खेलाडी छनोटका क्रममा खेलाडी डटकमसँग भनेका थिए । खेलाडी फिट रहेकाले समस्या नहुने उनको तर्क थियो ।

‘देशका लागि केही गर्नुपर्छ भन्ने सोचले जिम्मेवारी लिएको हुँ । समय कम छ । तर, भएको समय भरपूर सदुपयोग गर्छु । खेलाडी फिट छन् । त्यस्तो गाह्रो हुने छैन,’ श्रेष्ठले भनेका थिए ।

थिम्पुपछि अगस्टमा यु-१७ टोलीले थाइल्यान्डमा एएफसी छनोट खेलेको थियो । तीन हप्ताको प्रशिक्षणपछि प्रतियोगिता मुखैमा आइपुग्दा खेलाडीमा ‘म्याचुरिटी’ प्रस्ट रूपमा देखिएको उनले पोखरा जानु अघि सुनाएका थिए ।

‘जतिबेला मैले टिम लिएको थिएँ । त्योभन्दा अहिले टोली निखारिएको छ । कम समयका बावजुद आफ्नो रणनीतिमा खेलाडीलाई ढाल्ने कोसिस गरेको छु,’ श्रेष्ठ भन्छन्, ‘विगतका संस्करणभन्दा राम्रो नतिजा अवश्य आउने छ ।’

अन्य टोलीको परिदृश्य भने फरक छ । भुटानको प्रशिक्षण नेतृत्व फेरि एकपटक टंकमाया घलेले गर्दै छिन् । लामो समय भयो, घलेले माथिल्लो उमेर समूहमा भुटानी टोली सम्हाल्दै आएको । बंगलादेशको टचलाइनमा हुनेछन्, सिनियर राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पिटर बटलर । बटलरले अघिल्लो संस्करण घरेलु भूमिमा पनि टोलीको नेतृत्व गरेका थिए । जतिबेला टोलीले नेपाललाई पछाडि पार्दै उपाधि जितेको थियो ।

थिम्पु (यु–१७)मा पनि उनले नै टचलाइन सम्हाल्ने कुरा थियो । पछि अस्वस्थताका कारण उनले थिम्पु भ्रमण गर्न सकेनन् । यसै वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा बंगलादेशले पहिलो पटक ऐतिहासिक रूपमा सहभागिता जनाउँदै छ । यसैको तयारीका लागि प्रशिक्षक बटलर युवा टोलीसँग भिजिरहेको बताइएको छ ।

भारतले यही अप्रिलको अन्तिम साता चीनमा हुने एएफसी यु–१७ एसियन कप खेल्दै छ । पोखरा भ्रमण त्यसैको तयारीका रूपमा लिइएको छ । यसैका लागि भारतले पामेला कोन्टीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । पाँच वर्ष भेनेजुएलाको यु–२० महिला टोली हेरेका कोन्टी पूर्व इटालीका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् ।

पोखरा रंगशालामा नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ ।

दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानको सामना गर्नेछ । त्यसपछि फेब्रुअरी ४ मा बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोबिन लिगपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनलमा स्थान बनाउने छन् ।