काठमाडौं । माल्दिभ्समा मार्च २३ देखि अप्रिल ४ सम्म हुने साफ यु-२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले पहिलो चरणको छनोटका लागि ८० खेलाडी बोलाएको हो । छानिएका खेलाडी फेब्रुअरी ८ (माघ २५ गते) सातदोबाटोस्थित एन्फा मुख्यालयमा उपस्थित हुनुपर्नेछ ।
माथिल्लो उमेर समूहको यो प्रतियोगितामा नेपालको टचलाइन लगातार तेस्रोपटक उर्जन श्रेष्ठले सम्हाल्दैछन् । यसअघि श्रेष्ठले सन् २०२४ मा घरेलु भूमिमा सम्पन्न छैटौं संस्करण अनि गत वर्ष भारतमा भएको सातौं संस्करणमा टोलीको नेतृत्व गरेका थिए ।
माथिल्लो उमेर समूहमा नेपाल दुईपटकको च्याम्पियन हो । काठमाडौंमा सम्पन्न पहिलो र थिम्पुमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि जितेको थियो । त्यसयता नेपाल एकपटक उपविजेता बनेको छ ।
दुई वर्षअघि श्रेष्ठको टोली बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । सातदोबाटोमा भएको फाइनलमा नेपाल ४-१ ले निराश बनेको थियो ।

