काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीपक खतिवडाले सार्वजनिक रुपमा वर्तमान नेतृत्वलाई विधानविपरीत काम गरेको, संस्थागत प्रक्रियालाई बेवास्ता गरेका र नेपाली फुटबललाई कानुनी र अन्तर्राष्ट्रिय जोखिमतर्फ धकेलेको आरोप लगाएपछि एन्फा भित्र नयाँ विवाद उत्पन्न भएको छ ।
सोमबार लगनखेलमा सम्मेलन गरेका खतिवडाले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राइको नेतृत्वमा बढ्दो अव्यवस्था, एन्फाको विधान र निर्वाचन निर्देशनको बारम्बार उल्लङ्घन भएकोमा गम्भीर आपत्ति व्यक्त गरे ।
नेपाली फुटबललाई सुदृढ पार्ने आशाका साथ लामो समयदेखि नेतृत्वलाई रचनात्मक सहयोग र सुझाव दिँदै आएको दाबी गरेका उनले आफ्नो चिन्तालाई निरन्तर बेवास्ता गरिएको आक्रोश पोखे ।
प्रस्तावित अर्ली इलेक्सनलाई मुद्धा राख्दै उनले वर्तमान नेतृत्वप्रति आलोचना गरेका छन् ।
‘विधानसम्मत निर्वाचन गर्ने हो भने सबैभन्दा पहिले जिल्लाहरुको निर्वाचन सम्पन्न गरि केन्द्रको निर्वाचन प्रक्रियामा जानुपर्छ भन्ने मेरो स्पष्ट अडान रहँदै आएको छ,’ खतिवडाले भने, ‘तर,अध्यक्षज्इुले निर्देशिकाको व्यवस्थालाई बेवास्ता गर्दै यसलाई पूर्णतः अस्वीकार गर्नुभएको छ । बहुमतको दम्भमा विधानविपरीत कामहरु भइरहेका छन् ।’
खतिवडाले गत वैशाख २६ मा धुलिखेलमा सम्पन्न एन्फाको नियमित साधारण सभाको निर्णयलाई नेतृत्वले अवमूल्यन गरेको दाबी गरे ।
‘साधारण सभाले २०८३-८७ कार्यकालको लागि केन्द्रीय कार्यकारी समितिको चुनावअघि सदस्य संघहरुको चुनाव सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णयलाई उल्ट्याउन खोज्नु अवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी छ,’ खतिवडा भन्छन्, ‘यो त तानाशाही प्रवृत्ति भयो ।’
त्यस्तै उनले निर्वाचन प्रक्रिया वरिपरि रहेका कानुनी जटिलताहरुलाई पनि प्रकाश पारे ।
‘राष्ट्रिय खेलकुद परिषदले एन्फालाई पहिले नै तहगत रुपमा निर्वाचन सञ्चालन गर्न निर्देशन दिइसकेको छ । हालै पाटन उच्च अदालतले निर्वाचन प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ । यस्तोमा सम्मानित उच्च अदालत र नियामक निकाय राखेपको निर्देशन पालना नगर्ने नेतृत्वको ढिपीले गर्दा निकट भविष्यमा फिफा र नेपाली फुटबल प्रतिबन्धमा पर्ने सम्भावना बढेको छ,’ उनले भने ।
खतिवडाले निर्वाचित पदाधिकारीको हैसियतमा पनि एन्फाभित्र बहुमतको शक्तिमार्फत आफ्नो आवाज र सुझावहरुलाई दबाइएको आरोप लगाए । उनले व्यक्तिगत स्वार्थ र एकपक्षीय निर्णयले नीति र पक्रियालाई ओझेलमा पारेको दाबी गरे ।
‘नेपाली फुटबलको भविष्य, खेलाडीको करिअर र फुटबल समर्थकहरुको भावनासँग खेल्ने अधिकार कसैसँग छैन । यी मुद्धाहरु उठाउनु मेरो जिम्मेवारी हो,’ उनले भने ।
