काठामडौं । माल्दिभ्समा मार्च २३ देखि अप्रिल ४ सम्म हुने साफ यु-२० च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।
मंगलबार दक्षिण एसियाली फुटबल महासंघ(साफ)ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा रहेको नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ । सोही दिन समूह ‘ए’ अन्तर्गतनै राति ९ः१५ बजे घरेलु टोलीले श्रीलंकासँग खेल्नेछ ।
सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा साबिक विजेता भारत, बंगलादेश र पाकिस्तान छन् । सिंगल राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
भुटानपछि नेपालले मार्च २५ मा श्रीलंका र २७ मा माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा भइसकेको छ । आइतबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले पहिलो चरणको छनोटका लागि ८० खेलाडी बोलाएको थियो । छानिएका खेलाडी फेब्रुअरी ८ (माघ २५ गते) सातदोबाटोस्थित एन्फा मुख्यालयमा उपस्थित हुनुपर्नेछ ।
माथिल्लो उमेर समूहको यो प्रतियोगितामा नेपालको टचलाइन लगातार तेस्रोपटक उर्जन श्रेष्ठले सम्हाल्दैछन् । यसअघि श्रेष्ठले सन् २०२४ मा घरेलु भूमिमा सम्पन्न छैटौं संस्करण अनि गत वर्ष भारतमा भएको सातौं संस्करणमा टोलीको नेतृत्व गरेका थिए ।
माथिल्लो उमेर समूहमा नेपाल दुईपटकको च्याम्पियन हो । काठमाडौंमा सम्पन्न पहिलो र थिम्पुमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि जितेको थियो । त्यसयता नेपाल एकपटक उपविजेता बनेको छ ।
दुई वर्षअघि श्रेष्ठको टोली बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । सातदोबाटोमा भएको फाइनलमा नेपाल ४–१ ले निराश बनेको थियो ।

