काठमाडौं । फराकिलो जितको विकल्प नरहेको खेलमा नेपाल साफ यु-१९ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध पहिलो हाफमा २–० ले पछाडि परेको छ ।
बुधबार पोखरा रंगशालामा बंगलादेशले पाएका दुई अवसरलाई गोलमा परिणत गर्यो । दुबै सेटपीसबाट सम्भव भएका हुन् ।
खेलको तेस्रो मिनेटमा बंगलादेशले कर्नरलाई सदुपयोग गर्यो । मामोनी चक्माको कर्नर क्रसमा प्रतीमा मुन्डाले सहज हेडर गोल गरिन् । उनीसहित तीन खेलाडी नेपाली खेलाडीको निगरानीमा थिएनन् । जसका कारण अग्रता लिन बंगलादेशलाई कुनै पनि गाह्रो भएन ।
इन्जुरी समयमा बंगलादेशले पेनाल्टी बक्स नजिकै फ्रिकिक प्राप्त गर्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी रक्षक मिनमाया श्रेष्ठले अल्पी अख्तरलाई फउल गरेपछि बंगलादेशले सेटपीस अवसर पायो । प्रिकिक प्रहारलाई अल्पीले नै लिइन् । उनले दोस्रो बारमा गरेको प्रहारलाई नेपालकी गोलकिपर झरना डुम्राकाटीले बचाउन सकिनन् ।
अब नेपालले फाइनलमा स्थान बनाउन दोस्रो हाफमा पुग्न १० गोल गर्नुपर्ने स्थिति बनेको छ । जुन सम्भावनाभन्दा निकै टाढा छ । यही नतिजा कायम रहने हो भने भारत र बंगलादेशले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
