काठमाडौ । ओलम्पिकका लागि बक्सिङको दोस्रो छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक जाने भएको छ ।
मे २४ देखि जुन ३ सम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाशइजम लिम्बुले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नेछिन् ।
टोलीको प्रशिक्षकमा प्रकाश थापामगर छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बिदाइ गरे ।
‘छनोट हुने राम्रो अवसर हो । उच्च मनोबलका साथ प्रदर्शन गर्नु होला । पेरिस पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोबर्धन र पेरिस ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ छनोट भएर अहिले नेपाली खेलकुदमा सरकरात्मक सन्देश प्रवाह भएको छ,’ सदस्यसचिव घिसिङले भने ।