काठमाडौं । आगामी २०२४ मार्चमा इटलीमा हुने ओलम्पिक छनोट बक्सिङ प्रतियोगिताका लागि प्रारम्भिक छनोट सोमबारबाट ललितपुरको सात्दोबाटोमा सुरु भएको छ ।
सोमबार सम्पन्न महिलातर्फको वैन्टम वैट ५४ किलो तौल समुहमा बक्समाण्डुकी अन्जली तेलीले एपिएफकी शर्मिला तामाङलाई युनानिमस डिसिजनको आधारमा ५-० ले पराजित गरेकी छन् ।
पुरुषतर्फ फ्लाई वैट ५१ किलो तौल समुहमा एचटुओका रविन थापालाई आर्मीका सुशिल थापाले स्पिलट डिसिजनको आधारमा ३-२, बक्समाण्डुका लक्ष्मण राईले रुपन्देहीका अमृत ठाडाराईलाई आरएससीको आधारमा तेस्रो राउण्डमा, रुकुमका अजय पुनमगरलाई नेपाल प्रहरीका चन्द्रबहादुर थापाले युनानिमस डिसिजन आधारमा ५-० तथा जेनेक्सका कमल थापा मगरलाई अल्फाका विशेष बुढामगरले अंकको आधारमा ५-० ले पराजित गरे ।
यसैगरी फेदर वैट ५७ किलो तौल समुहमा भाइब बक्सिङ क्लबका निराजन मोक्तानले एपिएफका प्रदीप महर्जनलाई स्पिलट डिसिजनको आधारमा ३-२ ले पराजित गरे । ७१ किलो तौल समुहमा भाइबका कुशल गुरुङलाई भुपु बक्सिङ कास्कीका निशान गुरुङले अंकको आधारमा ४-१ ले स्तब्ध बनाए ।
७१ किलो तौल समुहमै नक्सालका अश्विन धिरन श्रेष्ठलाई नेपाल आर्मीका दानबहादुर दर्लामीले युनानिमस डिसिजनका आधारमा ५-० ले पराजित गरे ।