काठमाडौं । अर्को सातादेखि काठमाडौंमा सुरु हुने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि गण्डकी प्रदेश भलिबल संघले पुरुषतर्फको टोली घोषणा गरेको छ ।
हरि कुमार श्रेष्ठ संयोजक रहेको तीन सदस्यीय छनोट समितिले आइतबार गण्डकीको पुरुषतर्फको १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समिति सदस्यमा प्रदेश खेलकुद परिषद गण्डकीका प्रशिक्षक रमेश केसी र राजेन्द्र जिसी थिए ।
एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सातौं संस्करण पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ । च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलातर्फ आठ टोलीको सहभागिता पक्का भएको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ,मणिमुकुन्द भलिबल क्लब बुटबल,जावलाखेल भलिबल ट्रेनिङ सेन्टर बागमती प्रदेश,बुढानिलकण्ठ भलिबल क्लब,गण्डकी प्रदेश,सैलुङ बाघढुंगा स्पोर्टस क्लब रामेछाप र सुदूरपश्चिम प्रदेशको सहभागिता पक्का भइसकेको छ ।
त्यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, नेपाल पुलिस,त्रिभुवन आर्मी न्यु डायमण्ड स्पोर्टस क्लब,जावलाखेल भलिबल ट्रेनिङ सेन्टर,गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवलको सहभागिता रहने छ ।
लिगकम नकआउटको आधारमा हुने यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा स्थान बनाउनेछन् ।
च्याम्पियनसिपको पुरुष र महिला दुवै तर्फको विजेताले समान ४ लाख रुपैयाँ र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधातार्फ उत्कृष्ट हुने (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैया प्राप्त गर्नेछन् ।
गण्डकीको टोली
अलराउन्डरः हरि पाण्डे र सन्जय परियार
ओपन स्पाइकरः घनश्याम चौधरी,रवि केसी,सन्तोष थापा मगर र किरण गुरौं
मिडल ब्लकरः हिमाल सुनारी, दीपक मल्ल ठकुरी र इन्द्र विक
सेटरः सुजन चोखाल र मिन सुनार
लिबेरोः राजन दर्लामी मगर