काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया काेडिएडललाई अनुबन्ध गरेको छ ।
काठमाडौंले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा मिडल ब्लकर कोडिएललाई भित्र्याएको हो । टोलीले यसअघि नै बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ ।
एक दशक भन्दा लामो समय भलिबलमा बिताइसकेकी कोडिएलले विशेषगरी मिडल ब्लकरको रूपमा खेल्दै आएकी छन् । उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन् ।
मोरोक्कोमा जन्मिएकी कोडिएल इटली सरेपछि उनले त्यहीबाट खेल्न थालेकी हुन् । उनले साउदी अरेवियाको अल इतिहाद एफसी, मोरोक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्काराजस्ता टिमबाट व्यावसयिक भलिबल खेलेकी छन् ।
कोडिएलले सन् २०१९ मा मोरोक्को राष्ट्रिय टिमबाट अफ्रिकन गेम्स तथा सन् २०२१ मा अफ्रिकन महिला भलिबल च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।
कोडिएलले पहिलो पटक नेपालमा लिग खेल्न निकै उत्साहित रहेको बताइन् । ‘नेपालको एभरेस्ट महिला भलिबल लिगमा खेल्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो । पहिलो पटक नेपाल जाँदैछु र देश बारे बुझ्न, फ्यानहरूलाई भेट्न र मैदानमा आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन गर्न उत्सुक छु’, उनले भनिन् ।
तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि काठमाडौंको टिममा खेलाडी संख्या ११ पुगेको छ । अब ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्कीमा निरन्तरता दिएको काठमाडौंले अक्सनबाट सात खेलाडी अनुबन्ध गरेको थियो ।
काठमाडौंले अक्सनबाट मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्दलाई भित्र्याएको हाे ।
दोस्रो संस्करणका लागि काठमाडौंले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा एइडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुँदैछ ।