एनभिए महिला तथा पुरुष भलिबल लिग

गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं । गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लब एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेकुद परिषद् (राखेप) कभर्डहलमा पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २०-२५ ले गुमाएको थियो ।

त्यसपछिका दुई सेट २५-२०, २५-२० ले आफ्नो पक्षमा पार्दै हेल्प नेपाल उपाधि रक्षा गर्न सफल रह्यो । लिग चरणको खेलमा भने गण्डकीले हेल्प नेपाललाई ३-२ को सेटमा पराजित गरेको थियो ।

विभागीय डर्बीमा आर्मीविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै पुलिसले तेस्रो स्थान हासिल  गरेको छ ।

यसैगरी महिलातर्फ एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्यो । आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो स्थान हासिल गर्यो ।

प्रतियोगितामा दुवैतर्फको विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गरे ।