काठमाडौं । एन्फा महिला लिगअन्तर्गत शनिबार सम्पन्न विभागीय डर्बीमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन सविता रानामगर र गीता रानामगरले गोल गरे । आर्मीका लागि विमला चौधरीले एक गोल फर्काइन् ।
जितसँगै एपीएफ दुई खेलमा चार अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिँदा समान खेलबाट तीन अंक जोड्दै आर्मी पाँचौं स्थानमा झरेको छ ।
पहिलो खेलमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिँदा आर्मीले संकटालाई ४-० ले पराजित गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा सविताको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । कप्तान अनिता बस्नेतको कर्नरमा सविताको लोअर प्रहारले जाली चुमेको थियो ।
विमलाले ५६औं मिनेटमा विमला विकको क्रसलाई पोस्टको दिशा दिँदै आर्मीलाई बराबरीमा ल्याइन् ।
गीताले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा एपिएफ २-१ ले अगाडि बढ्यो । अर्मीकी गोलकिपरअञ्जना रानामगरले अनिता केसीलाई लडाएपछि एपिएफले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । जसमा गीताले सहजै गोल गरिन् र
त्यसपछि थप गोल निस्कन सकेन ।