काठमाडौं । कविराज नेगी लामालाई पेरिस पारा ओलम्पिकअघिसम्म लागेको थिएन कि ‘देशकै एक सफल प्रशिक्षक बन्छु ।’ जब पलेशा गोवर्धनले फ्रान्समा पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितिन्, तब यी प्रशिक्षकको पनि भाग्य चम्किएको छ । उनी अहिले नेपाली खेलकुदमा उच्च पदक जिताउने पहिलो प्रशिक्षक बनेका छन ।
यसअघि नेगीले प्रशिक्षक भएपछि विभिन्न १० अन्तर्राष्ट्रिय पदक जिताइसकेका थिए । जब ११औं पटक पदक जिते, तब उनको चर्चा सर्वत्र छ । उनी पारा तेक्वान्दोका स्वयंसेवी प्रशिक्षक हुन् । तेक्वान्दोमै समर्पित भएपछि उनले जागिरका लागि न त खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद धाए न तेक्वान्दो संघ । यद्यपि तेक्वान्दो कर्ममा लागिरहे ।
पछिल्लो दशक नेगीको दैनिकी बिहान ६ बजे सातदोबाटोको तेक्वान्दो हल तथा १० बजेपछि त्यहीबाट करिब २ सय मिटर दुरीमा रहेको एन्फा मुख्यालय धाउनु हो ।
सधैं बिहान ६ बजे नै चाबहिलबाट सातदोबाटोस्थित तेक्वान्दो हल पुगेर खेलाडीलाई प्रशिक्षण दिन तयार भइरहन्थे । त्यही मिहिनेत र त्यागकै कारण नेगीले यो सफलता हात पारेका छन् ।
त्यसैले नेगी आफ्नो सफलताको सूत्र नै ‘मिहिनेत र त्याग’ मान्छन् । बिहान ६ बजे घरबाट निस्केर बेलुकी ७-८ बजे घर पुग्नु उनको दैनिकी हो । यसक्रममा उनले घरपरिवारलाई रुझाएकै छन् । त्यसमा पनि निकै सफल ।
उनको त्याग तेक्वान्दोमा मात्रै नभएर फुटबलमा पनि उत्तिकै छ । खासमा उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का कर्मचारी हुन् । उनले एन्फा महासचिवको सहयोगी रूपमा काम गर्दै आएका छन् । उनले दुई वर्षअघि नै एन्फाको जागिरबाट हात झिकेका थिए ।
तेक्वान्दोकै पूर्वखेलाडी इन्द्रमान तुलाधर एन्फा महासचिव रहँदा उनको सहयोगीको भूमिकामा थिए । तत्कालीन समयमा तुलाधरले कर्माछिरिङ शेर्पालाई सहयोग गरे । तर, कर्माले चुनाव हारेपछि तुलाधर पनि एन्फाबाट बाहिरिए । त्यसपछि नेगीले पनि पदबाट राजीनामा दिए । एक महिनाको अन्तरालसम्म नेगीको राजीनामा स्वीकृत भएन । वर्तमान महासचिव किरण राईले सचिवालय चलाउन गाह्रो भएपछि नेगीलाई पुनः काममा फिर्ता बोलाए ।
नेगीको उपलब्धिमा पलेशा वरदान नै साबित भइन् । अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक नेगीेले जितेको ११ पदकमध्ये पलेशाले मात्रै सर्वाधिक चार जिताएकी छिन् ।
पछिल्लो दशक नेगीको दैनिकी बिहान ६ बजे सातदोबाटोको तेक्वान्दो हल तथा १० बजेपछि त्यहीबाट करिब २ सय मिटर दुरीमा रहेको एन्फा मुख्यालय धाउनु हो ।
जब उनी पदक जितेको पाँचौं दिनमा स्वदेश फर्किए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत पाए । स्वागतपछि नेगी र पलेशा गोवर्धनलाई त्रिपुरेश्वरेसम्म र्याली गर्दै लगिएको थियो । दुवैले यस्तो भव्य सम्मान पहिलो पटक पाएका थिए । उनीहरू बसेको गाडीमा खेलकुदमन्त्री तेजुलाल चौधरी र परिषद सदस्य सचिव टंकलाल घिसिङ बसेका थिए ।
राखेप परिसरमा भएको सम्मान तथा बधाई कार्यक्रममा मन्त्री चौधरीले दुःखेसो पनि पोखे । राखेपप्रति उनको आक्रोश थियो, ‘प्रशिक्षक नेगी किन अहिलेसम्म स्वयम्सेवक प्रशिक्षक ?’ उनले थपे भने, ‘नीति नियम, कानुन के छैन ? त्यसमा ध्यान दिउँ । यो काम छिट्टै पूरा होस् ।’
नेगीको उपलब्धिमा पलेशा वरदान नै साबित भइन् । अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक नेगीेले जितेको ११ पदकमध्ये पलेशाले मात्रै सर्वाधिक चार जिताएकी छिन् । नेगीको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ । पलेशाले ३ स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान एक कांस्य जितेका छन् ।
त्यसैले उनले बधाई कार्यक्रममै पलेशालाई बधाई दिए । खुलेरै भने, ‘मलाई सफल बनाएको र यो उपलब्धि दिलाएकामा पलेशा तिमीलाई बधाई छ ।’
पारा तेक्वान्दोको प्रशिक्षणमा सन् २०१३ देखि लागेका उनले पहिलो पटक ठूलो उपलब्धि हात पारेका हुन् । सानै उमेरमा आमाले छाडेपछि नेगी टुहुरो भए । त्यसबाट केही समय विक्षिप्त नभएका हैनन्, तर आफैंलाई सम्हाले । यो सबै उपलब्धि उनले आफ्नो आमालाई नै समर्पित गरेका छन् । आमाकै नाममा छातीको बायाँतर्फ ट्याटु नै खोपेका छन् ।
अहिले उनी जति नै उपाधि हात पारेका छन्, कहींकतै आफ्नै आमालाई त्यो पदक समर्पित गर्दै बारम्बार सम्झन्छन् । कुनै दिन उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘०४६ साल साउन १३मा आमाले मलाई छोडेर गए पनि सधैं मेरो साथमा हुनुहुन्छ आमा ।’