एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिग

शैलुङ्गमाथि गण्डकीको रोमाञ्चक जित

सांकेतिक तस्बिर

काठमाडौं । गण्डकी प्रदेशले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा गण्डकीले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो ।

सुरुआती दुई सेट २५-१६,२५-१३ ले आफ्नो पक्षमा पारेको गण्डकीले त्यसपछिका दुई सेट १९-२५ र २०-२५ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पाँचौं तथा निर्णायक खेल १५-६ ले आफ्नो पक्षमा पार्दै गण्डकीले पहिलो जित दर्ता गरेको हो ।

जितसँगै गण्डकीले ५ खेलमा ३ अंक जोडेको छ । पराजित शैलुङ्ग ६ खेलमा ३ अंक जोड्दै छैटौं स्थानमा रहेर बाहिरिएको छ ।

गण्डकीले समूह चरणको अन्तिम खेलमा शुक्रबार दावाँली मिलन क्लबको सामना गर्नेछ ।

बिहीबार नै सम्पन्न महितर्फको खेलमा आर्मीले एभरेस्ट भलिबल क्लब तथा एपिएफले न्यू डायमन्ड युथ स्पोर्टस क्लबमाथि समान ३-० को जित निकालेका थिए ।

यसैगरी पुरुषतर्फ हेल्प नेपालले एपिएफमाथि ३-२ र पुलिसले आर्मीममाथि ३-० सेटको जित निकाले ।