एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

गण्डकीको पहिलो जित

सांकेतिक तस्बिर

काठमाडौं । गण्डकी प्रदेशले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न खेलमा गण्डकीले एभरेस्ट भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट १३-२५ ले गुमाए पनि गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका ३ सेट २५-१९, २८-२६ र २५-२० ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै गण्डकीले ४ खेलमा ३ अंक जोडेको छ । चारै खेलमा पराजित एभरेस्ट अंकविहिन छ ।

अब गण्डकीले शुक्रबार र एभरेस्ट बिहीबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछन् ।

बुधबार नै सम्पन्न महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबमाथि ३-० को सोझो सेटमा जित निकालेको थियो ।

यसैगरी पुरुषतर्फका खेलमा शैलुङग बागढुङ्गा स्पोर्टस क्लबले दावाली मिलन क्लब, हेल्प नेपाल स्पोर्टस क्लबले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एपिएफलाई समान ३-२ को सेटमा पराजित गरेका थिए ।