एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

एपिएफको लगातार तेस्रो जित

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा मंगलबार सम्पन्न खेलमा एपिएफले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-०को सोझो सेटमा पराजित गरेको हो ।

एपिएफले खेल २६-२४,२५-१५ र २८-२६ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै एपिएफले ३ खेलमा ९ अंक जोडेको छ । लगातार चौथो पराजय ब्यहोरेको शैलुङ्ग अंकबिहिन छ ।

एपिएफले यसअघि दावाँली मिलन क्लबलाई ३-० र गण्डकी प्रदेशलाई ३-१ को  सेटमा हराएको थियो । शैलुङ्ग त्रिभुवन आर्मी, हेल्प नेपाल र नेपाल पुलिस क्लबसँग समान ३-०को सोझो सेटमा पराजित भएको थियो ।

अब बुधबार एपिएफले आर्मी र शैलुङ्गले दवाँली मिलानको सामना गर्नेछन् ।

महिलातर्फ मंगलबार नै सम्पन्न खेलमा एपिएफले एभरेस्टमाथि ३-० र न्यू डायमन्ड युथ स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३-२ को सेटमा जित निकाले ।

यसैगरी पुरुषतर्फ पुलिसले दवाँली मिलन र हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराए ।