पारा तेक्वान्दो

सृजना र कविराज नगदसहित सम्मानित

काठमाडौं । नेपाल तेक्वान्दो संघले गत मंसिरमा वर्ल्ड पारा तेक्वान्दो ग्राण्ड प्रिक्समा स्वर्ण जितेकी सृजना घिसिङ र उनका प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुसहितको उपस्थितिमा आइतबार सृजनालाई एक लाख र प्रशिक्षक लामालाई २५ हजार रुपैयाँले सम्मानित गरिएको हो ।

साउदी अरबको रियादमा गत मंसिर २२ देखि २४ सम्म आयोजित जी १० प्रतियोगितामा सृजनाले विश्व वरीयतामा शीर्ष स्थानमा रहेकी टर्कीकी क्याभडर मेरयेन बेटुललाई १२-० अंकका आधारमा पराजित गरी स्वर्ण जितेकी थिइन् ।

पारा तेक्वान्दोको के ४४ विधाबाट प्रतिस्पर्धा गर्ने सृजनासहित ओलम्पियन पलेशा गोवर्द्धन, रामबहादुर अधिकारी, अमीर ब्लोन र लोकराज शाही आसन्न एसियाली खेलकुद र सन् २०२४ मा फ्रान्समा हुने पारा ओलम्पिकका लागि तयारी गरिरहेका छन् ।

 सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोली समाहाल्दै आएका लामा आधिकारिक अन्तर्राष्ट्रियमा नेपालको लागि कुल आठ वटा पदक हासिल गर्न सफल प्रशिक्षक हुन् ।

प्रशिक्षक लामाले पारा तेक्वान्दो खेलबाट हांग्जाउ एसिययन पारा गेम्स तथा पेरिस पाराओलम्पिकमा पदकको ठुलो आशा गरेको जनाए ।