कीर्तिमान

एथ्लेटिक्स ४ सय मिटरको महिला–पुरुष दुवैमा कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएका छन् । पोखरा रंगशालामा मंगलबार बिहान महिला पुरुष दुवैतर्फ नयाँ कीर्तिमान बने ।

पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जिते ।

उनले सन् १९९० मा चीनको वेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको कीर्तिमान भङ्ग गरे । चौधरीले ४८.३२ सेकेन्डको कीर्तिमान राखेका थिए ।

सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दुरी पूरा गर्दै काँस्य पदक जिते ।

महिलातर्फ एपीएफकी रमिताकुमारी थारूले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् । तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।

आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले काँस्य पदक जित्न सफल भए । थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दुरी पूरा गर्दै पदक जिते ।