कञ्चनपुर । नेपाल बुद्धिचाल महासंघको वार्षिक कार्यक्रम अन्तर्गत प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल तथा दोश्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता काठमाडौं स्पोर्टस एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्तिक ५, ६ र ७ गते हुनेछ ।
प्रतियोगिताको विजेता खेलाडीले उपाधिसहित २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १४ हजार, तेस्रो हुनले ९ हजार, चौथोले ६ हजार, पाँचौले ४ हजार तथा छैटौं देखि १० स्थानमा रहनेले जनाही २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी यो स्पर्धामा शीर्ष तीन महिला खेलाडीले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपौयाँ पाउने छन् ।
द्रुतगतिमा खेलिने ब्लिट्ज खेलको लागि खेलाडीले ३ मिनेट पाउने छन् भने प्रत्येक चाल बापत थप २ सेकेन्ड थपिदै जानेछ । खेल ९ चरणको हुनेछ ।
विश्व बुद्धिचाल महासंघ (फिडे) र एसियन चेस फेडेरेसनको तत्त्वावधानमा सञ्चालन हुने दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताका विजेता खेलाडीले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी उपविजेताले २० हजार, तेस्रो हुनेले १४ हजार, चौथोले ९ हजार, पाँचौंले ६ हजार तथा छैटौं देखि १०औं स्थानमा रहनेले जाही ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै शीर्ष तीन महिला खेलाडीले क्रमशः ७ हजार, ५ हजार र ३ हजार पाउने छन् ।
उत्कृष्ट स्थानीय, उत्कृष्ट ५५ वर्ष माथिका भेट्रान, रेटिङ १७ सयमुनि, उत्कृष्ट अनरेटेड, उत्कृष्ट जुनियर वर्ष १२, १४,१६ विधाका खेलाडीलाई २ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ ।
र्यापिड खेलको लागि हरेक खेलाडीले १५ मिनेट पाउने छन् भने प्रत्येक चालमा १० सेकेन्ड थपिनेछ । खेल ९ चरणको हुनेछ ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी काठमाडौं स्पोर्टस एकेडेमीलाई प्रदान गरेको बताए ।
तेश्रो राष्ट्रब्यापी नेकोस फिडे रेटिङ बुद्धिचाल पनि हुने
काठमाडौं स्पोर्टस एकेडेमी तथा राष्ट्रिय बुद्धिचाल संघ नेपालको संयुक्त आयोजनामा तेस्रो नेकोस फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता पनि हुने भएको छ ।
प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी तेस्रो हुनेलाई २० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार तथा छैटौं देखि १०औं स्थानमा रहनेलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।
व्यक्तिगत विभिन्न ९ विधाका उत्कृष्ट प्रतिस्पर्धिले जनही ५ हजार रुपैयाँ पाउने छन् ।
कार्तिक ३ देखि ७ गतेसम्म हुने प्रतियोगिताको क्लासिकल खेल १ घण्टा ३० सेकेन्डको हुनेछ ।
स्वीस प्रणाली अनुसार हुने ९ चरणको क्लासिकल खेलमा डाइरेक्ट इन्काउन्टर, बुछोल्ज कट वान र टु, मोष्ट गेम वोन टाइब्रेक नियम लागु गरिने प्रमुख अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतीले जानकारी गराए ।