काठमाडौं । नेपाली राष्ट्रिय खेलाडी सम्मिलित एनएसआरए इलाइट पुरुष र एनएसआरए नेसनल टिमले महिलातर्फ तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास कोर्टमा शनिबार राति भएको फाइनलमा एनएसआरए इलाइटले बंगलादेशको बंगला टिम ‘ए’ लाई ३-० ले हरायो ।
एनएसआरए इलाइटका अरहन्तकेशर सिम्हाले शहदात हुसेनलाई ११-६, ६-११, ११-६,११-२, अमिर ब्लोनले अल अहमदु अपनलाई ११-१, ११-६, ११-६ तथा दिपक थापाले कर्मल हुसेनलाई ११-९, ८-११, ११–८, ११-७ ले हराए । सो इभेन्टमा बंगला ‘ब’ र एनएसआरए रैजर संयुक्तरुपमा तेस्रो भए ।
यसैगरी महिलातर्फ विपना ब्लोन, स्वास्थानी श्रेष्ठ र कृष्णा थापासम्मिलित एनएसआरए नेसनलले बंगलादेशकै टिमलाई हरायो । एनएसआरए जुनियर र गण्डकीले संयुक्तरुपमा तेस्रो स्थान हासिल गरे ।