बुढापेस्ट । हंगेरीको बुढापेस्टमा जारी ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेक थिङले लगातार दोस्रो जित दर्ता गरेका छन् ।
दोस्रो चरणमा विवेकले शनिबार हंगेरीका बाकी बेन्सलाई पराजित गरे । पहिलो खेलमा विवेकले जर्मन खेलाडी हाहन निक्लसलाई हराएका थिए ।
क्याण्डिडेड मास्टर विवेकले तेस्रो चरणको खेलमा हंगेरीयन अन्तर्राष्ट्रिय मास्टर मेसजारोस आन्द्राससँग प्रतिस्पर्धा गर्नेछन् । नेपालका शीर्ष २२८२ रेटेड विवेक थिङले हंगेरियन २११९ रेटेड आन्द्राससँग कालोगोटीबाट चुनौती दिनेछन् ।
बुढापेस्टको स्पोर्टस हलमा सेप्टेम्बर १२ देखि सञ्चालन भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक बुद्धिचाल सेप्टेम्बर २१ सम्म हुनेछ ।
विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ छ । उनले दुई खेलवाट चार रेटिङ वृद्धि गरिसकेका छन् । प्रतियोगितामा १८ रेटिङ वृद्धि गर्न सके २३०० रेटिङ पर्फोमेन्सका आधारमा विवेक फिडे मास्टरको उपाधि प्राप्त गर्ने पहिलो नेपाली बन्ने छन् ।
प्रतियोगिताको विजेताले ३७५, उपविजेताले ३००, तेस्रो स्थान हासिल गर्नेले २५० युरो प्राप्त गर्नेछन् ।
यसैगरी चौथो र पाँचौं हुनेलाई क्रमशः १७५ र १२५ युरो प्रदान गरिनेछ ।