काठमाडौ । रोमानियन टेनिस स्टार सिमोना हालेपले आफूलाई लागेको प्रतिबन्धकोविरुद्धमा खेलकुदको उच्च न्यायीक निकाय ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टस (कास) मा अपिल गरेकी छन् ।
एन्टी डोपिङ नियमको उल्लंघन गरेको आरोपमा हालेपमाथि चार वर्षको प्रतिबन्ध लागाइएको थियो । एक स्वतन्त्र न्यायीक निकायले हालेपले जानी जानी एन्टी डोपिङ नियम तोडेको ठहर गरेको हो ।
हालेपले गत वर्षको युएस ओपन टेनिस प्रतियोगिताका दौरान प्रतिबन्धित औषधी रोक्साडुस्ट्याट प्रयोग गरेको पाइएको थियो । रोक्साडुस्ट्याट यस्तो औषधि हो जसले रातो रक्त कोशिकालाई उत्तेजित गर्दछ।
हालेपको प्रतिबन्ध सन् २०२२ को अक्टोबरमा गरिएको अस्थायी निलम्बनदेखि नै गणना हुनेछ जसको अर्थ उनी सन् २०२६ को अक्टोबर ७ सम्म कार्ट बाहिर रहने छिन् ।
सन् २०१७/ १८ मा विश्व वरियताको शीर्ष स्थानमा रहेकी हालेप दुई पटक ग्रान्डस्लाम च्याम्पियन बनेकी छन् । उनले सन् २०१८ को फ्रेन्च ओपन तथा सन् २०१९ को विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जितेकी थिइन् ।