महिलाहरुको आत्मरक्षा

महिला आत्मरक्षाका लागि विराटनगरमा तालिम

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले महिलाहरुको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम गरेको छ ।

तालिम शुक्रबार र शनिबार विराटनगरमा भएको थियो । पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको परिस्थितीमा आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ ।

तालिममा महिलाहरुलाई घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान गर्ने र त्यसबाट आफूलाई कसरी बचाउने भन्ने बारेमा प्रशिक्षित गरिएको थियो ।

तालिममा हिंसामा परे कसरी सुरक्षा गर्ने भन्ने विषयमा पनि प्रशिक्षित गर्दै महिलाहरुलाई आत्मरक्षाको प्रयोगात्मक अभ्यास पनि गराइएको थियो ।

आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरुको सहभागिता थियो । काठमाडौंबाट आएका र प्रदेशका गरि ५ जना प्रशिक्षकहरुले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रमुख अतिथि एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद डाँगीलगायतले सो अवसरमा सहभागीहरुलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै आफू सुरक्षित रहन तथा साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे ।