रग्बी

रग्बीमा पुरुषतर्फ एपिएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

लेखनाथ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लब र महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् ।

पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपिएफले लुम्बिनी प्रदेशलाई १०-७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०-० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो ।

पुरुषतर्फ गण्डकी प्रदेशले कास्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०-५ को स्कोरमा पछि पार्दै बिजयी भएको हो ।

महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमले जितेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ५-० ले पराजित गर्दै कास्य पदक जितेको हो ।