सेपाकताक्रो

सेपाकताक्रो क्वाडमा बागमतीलाई स्वर्ण पदक

पोखरा ।  नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सेपाकताक्रोको क्वाड विधामा बागमती प्रदेशले स्वर्ण पदक जितेको छ । पूर्वी नवलपरासीको कावासोतीमा सम्पन्न प्रतियोगिताको फाइनलमा बागमतीले गण्डकीलाई २–० को नतिजामा पराजित गर्यो ।

बागमतीका लागि सुजन थिङ, राजन नेपाली, जिम्मी कपाली, रविन भट्टराई, संगिन थापा मगर र क्षितिजकुमार धामीको समूहले स्वर्ण दिलाएको हो । गण्डकीका लागी युवारास गुरुङ्ग, अर्जुन राना, विजय महतो, विपिन थनेत, पदमबहादुर ठाडा मगर र निरन गुरुङ्गको समूहले रजत पदक दिलाएका हुन । गण्डकीले रजत तर्फ चित्त बुझाउदा कास्य पदक भने प्रदेश एक ले जितेको छ ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा ६ वटा स्वर्ण पदकका लागि जारी प्रतियोगितामा डबल तर्फ महिला र पुरुषको दुवै तथा रेगु महिला तर्फको १ गरी विभागीय टोली नेपाली सेनाले ३ वटा स्वर्ण पदक जितेको छ । सेपाकताक्रो रेगु पुरुष र क्वार्ड महिला तर्फको फाइनल बुधबार हुनेछ ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन् ।