आर्चरी

आर्चरी: आर्मीले दुई र गण्डकीले एक स्वर्ण जिते

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आर्चरीको पुरुष स्टान्डर्डमा टिम इभेन्टको स्वर्ण गण्डकी प्रदेशले जितेको छ ।  

गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जित्यो । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्यो ।

महिलातर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्यो । सेनाका सरद बि.क., सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य जिते ।

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।