चेस

बुद्धिचालको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मीलाई स्वर्ण

गोरखा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिला तर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी क्लासिक चरणमा ९ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

प्रतियोगितामा लोहनीले क्लासिक चरणका सवै ९ खेलमा जित निकालिन् । लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बाग्मती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलकी सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्लबकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नम्बर एककी खुस्वु थापालाई पराजित गरेकी थिइन् ।

त्यस्तै क्लासिकल चरणको पाँचौ चरणको खेलमा लोहनी प्रदेश नम्बर १ की खेलाडी कृतिसारा अधिकारी, छैटौं चरणको खेलमा नेपाल पुलिस क्लबकी पुनम प्रसाई, सातौ चरणको खेलमा गण्डकी प्रदेशकी पुजा भण्डारी र आठौ चरणको खेलमा गैह्र आवासिय नेपाली संघ (एनआरएनए) की खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएकी सुशिला गुरुङलाई पराजित गरिन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकै सिन्दिरा जोशीले ७ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल भइन् । त्यस्तै  प्रदेश नम्बर १ की खुस्वु थापाले ६ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ । स्वर्ण पदक बिजेता लोहनीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्लासिक तर्फको क्लासिकल इभेन्टमा सवै खेल  जितेर स्वर्ण पदक बिजेता बनेका हुन् ।