स्क्वास

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

पोखरा । घरेलु गण्डकी प्रदेशको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासमा सोमबार एक स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशाला परिसरस्थित स्क्वास हलमा सोमबार सम्पन्न पुरुष खुल्लाको फाइनलमा गण्डकीका अमृत थापा मगरले पाँच सेटसम्म प्रतिस्पर्धा गर्दै बागमतीका अरहन्तकेशर सिंहलाई ३-२ को नतिजामा पराजित गरे ।

अरहन्तकेशरले रजत पदक हात पार्दा सेमिफाइनलमा पराजित भएका गण्डकीका दीपक तथा र बागमतीका अमिर भ्लोनले कांस्य पदकमा चित्त बुझाए । सेमिफाइनलमा अमृतले दीपकलाई ३-१ तथा अरहन्तले भ्लोनलाई ३-० को सोझो सेटमा हराएका थिए ।

नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासमा पुरुष र महिला खुल्ला तथा पुरुष टिम इभेन्ट्स गरि तीन स्पर्धामा मात्र प्रतिस्पर्धा भइरहेको छ ।

महिला खुल्लामा सात खेलाडीको मात्र सहभागिता रहेकाले प्रतिस्पर्धीलाई दुई समूहमा विभाजन गरि राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गराइरहिएको छ ।

समूह ‘ए’ बाट कृष्णा थापा र भावना सुनुवार तथा समूह ‘बी’बाट विपना ब्लोन र स्वस्थानी श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल पुग्ने चारै खेलाडीको कांस्य पदक पक्का भइसकेको छ । फाइनल पुग्नका लागि कृष्णाले स्वस्थानी तथा विपनाले भावनासँग प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष टिम इभेन्ट्सतर्फ प्रारम्भिक चरणका खेलहरु भइरहेका छन् । स्क्वासको बाँकी दुई स्पर्धामा स्वर्ण पदकको छिनोफानो बिहीबार गर्ने तालिका छ ।