काठमाडौं । दोस्रो हाफको सुरुआती १२ मिनेटमा तीन गोल खाएपछि नेपालले त्रिदेशीय अन्ततराष्ट्रिय प्रतियोगितानमा इरानसँग पराजय बेहोरेको छ ।
शुक्रबार सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा त्यही तीन गोलले इरानलाई च्याम्पियन बनायो । त्यसपछि खेलमा दुबै टोलीबाट कुनै पनि गोल भएन । आफ्नो पहिलो खेलमा इरानले भारतमाथि २–० को विजयी हासिल गरेको थियो ।
गोलरहितमा सकिएको पहिलो हाफमा इरानले दुईपटक गोलको खतरा बुनेको थियो । यी दुबै अवसरमा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा बाधक बनिन् । खेलको ३३औं मिनेटमा फतेमाह शबान घोरुदले राइट साइडबाट आएको क्रसलाई हेडरमार्फत बललाई गोलपोस्टको दिशा दिन सकिनन् ।
उता ‘बल पोसेसन’ कायम राखे पनि पहिलो हाफमा नेपालको आक्रमणबाट ‘शट्स अन टार्गेट’ सम्भव हुन सकेन । नेपालले ३१औं मिनेटमा सुनौलो अवसर गुमाएको थियो । लेफ्ट साइडबाट सवीता रानामगरको क्रसलाई विपक्षी रक्षकले नियन्त्रण गर्न नसक्दा रेखा पौडेलले गोल गर्ने राम्रो मौका पाएकी थिइन् । तर, रेखाको राइट फुटेड प्रहार बाहिरिन पुग्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सावित्रा भण्डारीको लेफ्ट फुटेड शक्तिशाली प्रहारले पनि गोलपोस्टको दिशा लिएन ।
दोस्रो हाफको चौथो मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी फरवार्ड सरा डिडारले इरानलाई ‘ब्रेक थ्रु’ दिलाइन् । गोलकिपर रहा याजदानीको ‘लामो दूरी’को पासलाई सराले प्रशंसनीय तरिकाले सदुपयोग गरिन् । उनले लोअर प्रहारबाट अञ्जिलालाई ‘बिट’ गर्नुअघि सेन्टरब्याक विमला विकविरुद्ध ‘वान भर्सेस वान’ ब्याटल जितेकी थिइन् ।

पहिलो गोल गरेको तीन मिनेटपछि इरानले अग्रतालाई दोब्बर बनायो । यसपाली पनि सरा गोलको आधार बनिन् । पेनाल्टी बक्स नजिकै उनी नेपालका लेफ्ट ब्याक हिराकुमारी भुजेलबाट ‘फउल’ भइन् । राइट साइडमा प्राप्त फ्रिकिकलाई फरवार्ड तथा कप्तान जहरा घानबारीले सोझै गोलमा परिणत गरिन् । घानबारीको प्रहारलाई अञ्जिलाले बचाउने प्रयास गरेपनि बलले पहिलो बारको जाली चुमेको थियो ।
खेलको ५७औं मिनेटमा रक्षक मेलिका मोटेभालिताहेरको पासमा मिडफिल्डर शबनम बेहेसितले सनसनीपूर्ण गोल गरे । करिब २५ यार्ड परबाट बेहेसितको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको टप कर्नर जाली चुम्यो । ६ मिनेटपछि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी मिडफिल्डर फत्तेमेह पसन्दीदेको हेडर पहिलो बारमा लागेर फर्कियो ।
खेलको ७८औं मिनेटमा मिडफिल्डर प्रीति राईको क्रसमा फरवार्ड रश्मिकुमारी घिसिङको हेडर इरानकी गोलकिपर रहा याजदानीले बचाइन् । पाँच मिनेटपछि बक्स बाहिरबाट प्रीतिको प्रहारलाई पनि याजदानीले नियन्त्रणमा लिइन् ।
नेपालले आफ्नो दोस्रो खेलमा सोमबार घरेलु टोली भारतसँग खेल्ने तालिका छ ।
