काठमाडौं । साविक उपविजेता सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि पनि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ ।
उनी सुदुरपश्चिम भित्रिने पहिलो विदेशी खेलाडी हुन् । कुगेलेइनले पहिलो सिजनमा टोलीलाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । १७ विकेटका साथ उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए ।
सुदूरपश्चिमका मालिक स्वत्रन्त्रप्रताप शाहले कुगेलेइनलाईको अनुभवले टोलीको बलिङ आक्रमणलाई थप मजबुत बनाउनुका साथै साथै ब्याटिङमा पनि महत्वपूर्ण टेवा पुग्ने बताए ।
कुगेलेइनले पनि पुनःसुदूरपश्चिम रोयल्सका समर्थकका अगाडि खेल्न तथा टिमलाई सफलता दिलाउन आतुर रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
