कार्तिक २४, २०८२ सोमबार | १०:१४:५२
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो
शनिबारको दिन

सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत

काठमाडौं । सावित्रा भण्डारीले अक्सर पत्रकारहरुबाट एउटा प्रश्नको सामना गरिरहनुपर्छ । अनि त्यसमा उनको उत्तर पनि सधै एउटै हुने गर्छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी नवनियुक्त कप्तान सावित्रालाई अक्सर सोधिने प्रश्न हो, तपाईंका लागि अहिलेसम्मको करियरमा सबैभन्दा सम्झनालायक प्रदर्शन कुन हो ? उनको यसमा उत्तर सदावाहर उत्तर हो, भारतविरुद्ध सन् २०१९ मा प्राप्त जित । त्यो वर्ष भारतले भुवनेश्वरमा महिला गोल्डकपको आयोजना गरेको थियो । लिग चरणमा नेपालले भारतलाई २-१ ले हराएको थियो । नेपाली महिला फुटबलले एउटा ऐतिहासिक प्रदर्शन मानेको त्यही खेललाई सावित्रा पनि आफ्नो करियरको अहिलेसम्मको स्मरणीय मान्छिन् ।

खासमा नेपालले भारतमाथि त्यसपछि पनि जित हासिल गरिसकेको छ । घरेलु मैदानमा गतवर्ष हासिल गरेको जित त धेरै अर्थमा स्मरणीय थियो । सायद विश्व फुटबल इतिहासकै सबभन्दा लामो प्रतिस्पर्धामा नेपालले झण्डै २० हजार घरेलु दर्शकमाझ जित हासिल गरेको थियो । जहाँ सावित्राको गोल र गोलमाथिको सेलिब्रेसन त झनै समर्थकको मानसपटलमा ताजै छ ।

तर सावित्राका लागि भने भुवनेश्वरको त्यो जित नै किन विशेष त । त्यसमा दुवै गोल सावित्राले गरेकी थिइन । त्यो खेलमा नेपालले छिमेकी देशमाथि मात्र जित हासिल गरेको थिएन । खासमा त त्यो खेलमा भारतको नामले दिने दबाबमाथि सावित्राको जिद्धिपनाले पनि जित हासिल गरेको थियो । यसकारण त्यो खेल सावित्रा र नेपालका लागि विशेष छ ।

 भारतलाई भारतीय भूमिमै सामना गर्दा सबैभन्दा खुसी हुने भनेको सावित्रा नै हुन् । यसमा दुई मत छैन । 

भारतविरुद्ध नेपालले अहिलेसम्म १८ खेल खेलको छ । त्यसमा नेपाल जम्माजम्मी तीन खेलमा मात्र विजयी भएको छ । भारतमाथि नेपालको दोस्रो जित सन् २०२४ मा काठमाडौंमा भएको महिला साफ च्याम्पियनसिपका बेला प्राप्त भएको थियो । निर्धारित समयको त्यो सेमिफाइनल खेल १-१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

महिला साफ च्याम्पियनसिपमा भारतसँग प्रतिस्पर्धा गर्दै सावित्रा भण्डारी (रातो जर्सी) । 

त्यसमा नेपाल विजयी भयो र त्यसमा पनि सावित्राले नै एक गोल गरेकी थिइन् । त्यो गोल पछि सावित्राले दशरथ रंगशालामा जसरी खुसीयाली मनाइन, त्यो कसले मात्र बिर्सन सक्छ र ? यो त नेपाली फुटबल इतिहासकै एक ‘आइकोनिक मोमेन्ट’ थियो । त्यस अर्थमा निर्धारित ९० मिनेटको खेलमा नेपाल विजयी रहेको भनेको भुवनेश्वरमै मात्र हो, त्यसैले पनि यो साँच्चै विशेष छ ।

अहिले नेपाली महिला टिम भारतमै छ । इरानसमेत सम्मिलित थ्री नेशन्स कप खेल्नका लागि टिम सिलोङ पुगेको छ ।

नेपालले आफ्नो पहिलो खेल इरानसँग खेलिसकेको छ । अब पालो, भारतको । भारतविरुद्धको खेल सोमबार हुनेछ । भारतलाई भारतीय भूमिमै सामना गर्दा सबैभन्दा खुसी हुने भनेको सावित्रा नै हुन् । यसमा दुई मत छैन। उनले नेपाली मिडियासँग कुरा गर्दा पनि आफ्नो ध्यान भारतविरुद्धको खेलमै रहेको बताएकी छिन् ।

फेरि सावित्राका लागि भारत नै सबैभन्दा प्रिय प्रतिद्वन्द्वी हो, यसमा पनि दुई मत हुने छैन् भलै यस्तै हो भनेर उनले दाबी गरेकी छैनन् । भारतविरुद्ध नेपालका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी सावित्रा नै हुन् । नेपाल र भारतले एक अर्का विरुद्ध खेल्न थालेको सन् २०१० यता हो । यसबीच भएका १८ खेलमा नेपालले भारतविरुद्ध १२ गोल गरेको छ र त्यसमा आठ गोल सावित्रा एक्लैको छ ।सावित्राले भारतविरुद्ध चेन्नईमा भएको मैत्रीपूर्ण फुटबलमा गरेका दुई गोल पनि कम्तीका थिएनन् । उनले भारतविरुद्ध दुई अवसरमा दुई गोल गरेकी छिन् । त्यस अर्थमा भारतविरुद्ध अधिकांस समय उनको प्रदर्शन उच्च रहेको छ । अब भारतको सामना गर्दा पनि उनको प्रदर्शन यस्तै हुने अपेक्षा छ । अब त झन उनी पहिलो पटक कप्तानका रूपमा भारतविरुद्ध खेल्दैछिन् ।