काठमाडौं । ट्वान्टी २० विश्वकपको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै भारतले लगातार दोस्रो पटक उपाधी जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा भारतले न्युजिल्याण्डलाई ९६ रनले हराउँदै उपाधी जितेको हो ।
भारतले उपाधी चुम्दा धेरै कीर्तिमानहरु बनेका छन् । ती मध्येका महत्वपुर्ण केही कीर्तिमान यसप्रकार रहेका छन् :
१) सर्वाधिक पटक च्याम्पियन
न्युजिल्याण्डलाई पराजित गर्दै भारत सर्वाधिक ३ पटक विश्वकपको च्याम्पियन बनेको छ । भारत यसअघि सन् २००७ तथा सन् २०२४ मा पनि च्याम्पियन बनेको थियो । भारतले वेस्ट इण्डिज र इङ्ल्याण्डलाई पछि पार्दै यो कीर्तिमान बनाएको हो ।
वेस्ट इण्डिजले सन् २०१२ र सन् २०१६ तथा इङ्ल्याण्डले सन् २०१० र सन् २०२२ मा उपाधी जितेका थिए ।
२) लगातार दोस्रो पटक च्याम्पियन
ट्वान्टी २० विश्वकपको इतिहासमा भारत लगातार दोस्रो पटक च्याम्पियन बन्ने पनि पहिलो राष्ट्र बनेको छ । भारतले सन् २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा सम्पन्न अघिल्लो संस्करणमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधी जितेको थियो ।
३) घरेलु भुमीमा पहिलो पटक च्याम्पियन
ट्वान्टी २० विश्वकपको इतिहासमा नै आयोजक राष्ट्र नै च्याम्पियन भएको यो पहिलो पटक हो । भारतले घरेलु भुमीमा नै आयोजना भएको विश्वकपमा उपाधी जित्न सफल भएको हो । यसअघि सन् २०१२ मा श्रीलंका घरेलु भुमीमा आयोजना भएको विश्वकपको फाइनलमा पुगेपनि वेस्ट इण्डिजसँग पराजित हुदै उपविजेतामा सिमित बनेको थियो ।
४) नक आउटमा नै सर्वाधिक योगफल
भारतले आइतबार सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डविरुद्ध तयार गरेको २५५ रन अहिलेसम्मको ट्वान्टी २० को नक आउट खेलमा बनेको सर्वाधिक ठूलो योगफल हो । यसअघि भारतले नै गत बिहिबार भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डविरुद्ध २५३ रनको योगफल तयार गरेको थियो ।
यो विश्वकप अघि कीर्तिमान इटलीको नाममा रहेको थियो । ट्वान्टी २० विश्वकपको इतिहासमा आइतबार पहिलो पटक २०० रन माथीको योगफल पहिलो पटक बनेको हो ।
५) सबैभन्दा फराकिलो अन्तरमा जित
आइतबार सम्पन्न फाइनलमा भारतले हासिल गरेको ९६ रनको जित ट्वान्टी २० विश्वकपकै इतिहासमा रनको आधारमा भएको सर्वाधिक ठूलो जित हो । यसअघि भारतले नै नामिबीयालाई यसै विश्वकपमा ९० रनले पराजित गरेको थियो ।
६) सबैभन्दा कम बलमा अर्धशतक
भारतका ओपनर अभिषेक शर्माले विश्वकपको नक आउट खेलमा सर्वाधिक कम बलमा अर्धशतक बनाउँने कीर्तिमान आइतबारकै फाइनल खेलमा बनाएका छन् । शर्माले १८ बलमा कीर्तिमानी अर्धशतक पूरा गरेका हुन् ।
यसै विश्वकपको सेमिफाइनल खेलमा न्युजिल्याण्डका फिना एलेनले दक्षिण अफ्रिकाविरुद्ध र इङ्ल्याण्डका ज्याकोब बेथहेलले भारतविरुद्ध समान १९ बलमा अर्धशतक पूरा गरेका थिए ।
७) फाइनलमा सर्वाधिक व्यक्तिगत रन
भारतका ओपनर सञ्जु स्यामसनले आइतबार न्युजिल्याण्डविरुद्ध बनाएको ८९ रन विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो व्यक्तिगत रन हो । यसअघि यो कीर्तिमान वेस्ट इण्डिजका मार्नोल स्यामुन्स र न्युजिल्याण्डका तत्कालिन कप्तान केन विलियम्सको नाममा रहेको थियो ।
स्यामन्सले सन् २०१६ को ट्वान्टी २० विश्वकपको फाइनल खेलमा इङ्ल्याण्डविरुद्ध अविजित ८५ रन बनाउँदा सन् २०२१ को फाइनलमा अस्ट्रेलियाविरुद्धको फाइनलमा न्युजिल्याण्डका विलियम्सले समान ८५ रन नै बनाएका थिए ।
८) पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी
न्युजिल्याण्डविरुद्धको खेलमा भारतका ओपनरद्वय सञ्जु स्यामसन र अभिषेक शर्माले पहिलो विकेटका लागि गरेको ९८ रनको साझेदारी गरेका थिए । विश्वकप फाइनलमा स्यामसन र शर्माबीच भएको ९८ रनको साझेदारी पहिलो विकेटका लागि भएको सर्वाधिक रनको साझेदारी भयो ।
यसअघि पाकिस्तानका कामरान अकमल र शाहजाइब हसनले सन् २००९ विश्वकप फाइनलमा श्रीलंकाविरुद्ध ४८ रनको साझेदारी गरेका थिए ।
