काठमाडौं । लाजियोले इटालियन सिरी ‘ए’ मा सोमबार घरेलु टोली जिनोआविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलमा ६ अंक जोडेको लाजियो १२औं स्थानमा उक्लिएको छ । पराजित जिनोआ समान खेलबाट दुई अंकका साथ १९औं स्थानमा छ ।
लसइगी फरारिज रंगशालामा लाजियोलाई जित दिलाउन माटिओ क्यान्सिलिएरी, भ्यालेन्टिन कास्टेलानोस र माटिया जाकाग्नीले गोल गरे ।
खेलको चौथो मिनेटमै क्यान्लिएरीको गोलमार्फत लाजियोले अग्रता लिएको थियो । उनले कास्टेलानोसको थ्रु पासलाई नियन्त्रणमा लिँदै पोस्टको दिशा दिए ।
कास्टेलानोसले३०औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । यस पटक एडम मारुसिकले गोलको अवसर सिर्जना गरेका थिए ।
जाकाग्नीले ६३औं मिनेटमा गोल गर्दै लाजियोलाई ३-० को सहज जित दिलाए । लुका पेलेग्रिनीको फ्रिकिकलाई जिनोआका रक्षकले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई जाकाग्नीले जाली चुमाए ।