काठमाडौं । एसी मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार नापोलीविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलमा १२ अंक जोडेको मिलान शीर्ष स्थानमा उक्लिएको छ । पहिला पराजय बेहोरेको नापोली समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।
सान सिएरोमा घरेलु टोली एसी मिलानलाई जित दिलाउन एलेक्सिस सेलमेकर्स र क्रिश्चियन पुलिसिकले गोल गरे । नापोलीका लागि केभिन डि ब्रुएनाले गोल फर्काए ।
खेलको तेस्रो मिनेटमै सेलमेकर्सको गोलमार्फत मिलानले अग्रता लिएको थियो । उनले पुलिसिकको पासलाई पोस्टको दिशा दिए ।
पुलिकले ३१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । यस पटक युसुफ फोफनाले गोलको अवसर सिर्जना गरेका थिए ।
पर्भिस एस्टुपिननले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मिलान १० खेलाडीमा समेटिएको थियो । ६०औं मिनेटमा डि ब्रुएनानले पेनाल्टीमार्फत गरेको गोल नापोलीका लागि सान्त्वना बन्यो ।