काठमाडौं । मलेसिया फुटबल संघ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको कार्बाहीमा परेसँगै एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले तीन अंक पाउने सम्भावना बढेको छ ।
शनिबार फिफा अनुशासन समीतिले फिफाको अनुशासन संहिता (एफडिसी)को धारा २२ को उल्लंघन गर्दै फर्जी कागज पेश गराएर अयोग्य खेलाडीलाई भियतनामविरुद्ध मैदानमा उतारेको भन्दै मलेसिया फुटबल संघलाई कार्बाही गरेको हो ।
समूह ‘एफ’ अन्तर्गत गत जुन १० मा मलेसिया आफ्नो दोस्रो खेलमा भियतनामविरुद्ध ४-० को सहज जित हासिल गरेको थियो । क्वालालम्पुरस्थित बुकित जलिल नेशनल रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीका लागि जाओ भिटर ब्रान्डाओ फिगुएरेडो, रोड्रिगो हुलियन होलगाडो, लरेन्स कोर्विन ओङ र डियोन कुल्सले गोल गरेका थिए ।
फिफाले होलगाडो र फिगुएरेडोसहित सात खेलाडीलाई कार्बाहीको आधिकारिक मितिबाट १२ महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्ध लगाउनुका साथै २००० स्विस फ्र्यान्क (३ लाख ५४ हजार ५३७ नेपाली रुपैयाँ) जरीवाना तोकेको छ । त्यस्तै मलेसिया फुटबल संघलाई ३५ हजार स्विस फ्र्यान्क (६ करोड २० लाख ४४ हजार १४८ नेपाली रुपैयाँ) जरीवाना लगाइएको छ ।
संघ र खेलाडीले १० दिनभित्र आफ्नो कार्बाहीविरुद्ध अपिल समीतिमा निवेदन दिन सक्नेछन् ।
कार्बाहीमा परेका एक जना खेलाडीले समूहको पहिलो खेलमा नेपालविरुद्ध गोलसमेत गरेका थिए । गत मार्चमा मलेसियाले नेपाललाई २-० ले हराएको थियो । दोस्रो गोल गरेका लरेन्स कोर्विन ओङ अहिले कार्बाहीमा परेका छन् । जसका कारण नेपालले गुमाएको तीन अंक प्राप्त गर्ने सम्भावना बढेको हो ।
यो विषयमा नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण भएको छ वा छैन ?
एन्फा महसचिव किरण राई फिफाको निर्णय कुरिरहेको बताउँछन् । ‘यस बारे एन्फा सचेत छ। तीन अंकको छिनोफानो फिफाले गर्ने हो । हामी निर्णय कुरेर बसिरहेका छौं,’ राईले खेलाडी डटकमसँग भने ।
नेपालले समूहको दोस्रो खेलमा लाओसविरुद्ध २-१ को हार बेहोरेको थियाे । अंकतालिकाको पुछारमा रहेको नेपालले यही अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ ।
समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्ने सेट-अप छ । हाल ३३ सदस्यीय नेपाली टोली सेप्टेम्बर २३ यता बन्द प्रशिक्षणमा छ ।