काठमाडौं । अग्रता जोगाउन नसक्दा घरेलु टोली इन्टर मिलान इटालियन सिरी ‘ए’ मा आइतबार युडिनेससँग २-१ ले पराजित भएको छ ।
पहिलो हारसँगै दुई खेलमा तीन अंक जोडेको इन्टर छैटौं स्थानमा छ । जित निकालेको युडिनेस समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।
सान सिएरोमा युडिनेसलाई जित दिलाउन केइनन् डेभिस र आर्थर एटाले गोल गरे । इन्टरका लागि डेन्जल डम्फ्रिजले गोल गरे ।
खेलको १७औं मिनेटमा डम्फ्रिजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । २९औं मिनेटमा डेभिसले पेनाल्टीमार्फत युडिनेसलाई बराबरीमा ल्याए ।
एटाले ४०औं मिनेटमा गोल गर्दा युडिनेस २-१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा युडिनेसले स्पष्ट तीन अंक जोड्यो ।
आइतबारै सम्पन्न अन्य खेलमा लाजियोले भेरोनालाई ४-० तथा युभेन्ट्सले जिनोवालाई १-० ले पराजित गर्दा टोरिनो र फियोरेन्टिना गोलरहित बराबरीमा रोकिए ।