काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा छहारी युवा क्लबले उद्घाटन खेलमा एफसी रियले क्लबमाथि ३–० को जित हासिल गरेको छ ।
बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भारी वर्षाबीच सम्पन्न समूह ‘ए’को खेलमा छहारीले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा एक गोल सम्भव भयो ।
वर्षाले प्रभावित खेल ३० मिनेट रोकिएको थियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री अञ्जना राईले खेल रोकेकी थिइन् ।
जितसँगै छहारीले अंकतालिकामा तीन अंक जोडेको छ ।
प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले राष्ट्रिय महिला लिगमा स्थान पक्का गर्नेछ । त्यस्तै अंकतालिकाको तेस्रो स्थानमा अटाउने दुई टोलीमध्येको विजेताले पनि छनोट हुनेछ ।
समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले तथा समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।
दिनको दोस्रो खेलमा समूह ‘बी’का टोलीहरु संकटा फुटबल क्लब र नेपाल खेलकुद क्लब आमने–सामने हुनेछन् । खेल एन्फा मुख्यालय मैदानमा दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।